क्यान्सर रोगी चन्द्रकला सङ्बाङ्फेलाई किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाले सहयोग पठायो

फेदाप, २ पुस / क्यान्सर पीडित चन्द्रकला सङ्बाङ्फे निङलेखुलाई उपचारार्थ किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाले सहयोग रकम पठाएको छ ।

तेह्रथुमको फेदाप गाउँपालिका वडा नं. १ सिम्ले स्थित टाहारी निवासी सङ्बाङ्फेलाई विरामी रहेकै घरमा पुगेर उक्त सहयोग रकम किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुम र फेदाप गाउँपालिका समितिले हस्तान्तरण गरेको हो ।

मानव सेवा नै धर्म हो भन्ने भावनाले प्रेरित प्रवासमा रहने नेपालीहरु आफुले कमाएको केही रकम बचत गरेर दुःख, पीडा र रोगीहरुको सहयोग गर्दछन । यसरी नै प्रवासमा रहेर लिम्बू संस्कार संस्कृति संरक्षणमा लाग्न किरात याक्थुङ चुम्लुङमा संगठित भएका लिम्बूहरुले संस्कार संस्कृति बाहेक मानवीय सहयोग सेवामा समेत सकृय भुमिका निर्वाह गरिरहेका छन ।

लामो समय देखि अस्ट्रेलियालाई कर्म थलो बनाइरहनु भएका मनुराज निङ्लेखुको सक्रियतामा किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाले विरामी चन्द्रकलाको लागि रु ९३,८७०/– त्रीयानब्बे हजार आठ सय सत्तरी रुपैयाँ रकम उपचारार्थ सहयोग पठाएको हो । विरामी चन्द्रकला विगत एक वर्ष देखि घाटीको क्यान्सर पीडित भएर उपचार गर्दै हुनुहुन्छ ।

उहाँका छोरा विजय निङलेखुका अनुसार क्यान्सर किमो उपचार महंगो हुने हुनाले उपचारको लागि समस्या भएको बताउनु हुन्छ । तथापि सक्दो उपचार गरिरहेको र यो सहयोगले आफुहरुलाई ठूलो राहत महसुस भएको बताए ।

रकम हस्तान्तरण किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ, जिल्ला सदस्यद्वय लोक बहादुर सिङगक, मोहनसिं सिङगक र कियाचु फेदाप गाउँ शाखा अध्यक्ष गंगा कुरुम्बाङको उपस्तिथिमा गरिएको थियो ।

सम्बन्धित खवर