मिक्लाजङ, २३ मंसिर/ किरात याक्थुङ लिम्बूहरुको महान चाड चासोत् तङ्नाम ५०८४ दुर्दिम्बा हाङ्सारीमा सम्पन्न भएको छ ।
विहिवार पान्थरको मिक्लाजङ गाउँपालिका वडा नं. ८ दुर्दिम्बा (साविक दुर्दिम्बा ३ ठूलो हाङ्सारी) स्थित गोर्खा बहुमत आधारभूत विद्यालयको खेलमैदानमा हाङसारी टोल विकास समाज समितिको आयोजनामा चासोत तङ्नाम ५०८४ कार्यक्रम जनप्रतिनिधि ८ नं. वडा सदस्य नोविम गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।
चासोत् तङ्नामको अवसरमा वडा स्तरिय भलिवल प्रतियोगिता खेल सम्पन्न भएको छ । खेलमा प्रथम हाङसारी भलिवल टिम, दोस्रो भदौरे भलिवल टिम दोस्रो भएका थिए । प्रथम विजेता टिमले ट्रफी मेडल सहित नगद १० हजार र त्यस्तै गरी दोस्रो विजेता टिमले ट्रफी मेडल सहित ५ हजार रुपैयाँ पुरस्कार रहेको थियो । खेलमा जम्मा पाँच टिमको सहभागीता रहेको आयोजकले जनाए ।
भलिबलका अतिरिक्त हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), नृत्य लगायतका खेलहरु समेत आयोजना गरेका थिए । पक्लुङ (छेलो हान्ने) तर्फ प्रथम अनुप वाजी, हाँडी फुटाउनेतर्फ मनकुमार लिम्बू, र नृत्यतर्फ उनिता मुसाहाङको समूह र सोमा लिम्बूको समूह रहेको वताए ।
कार्यक्रममा पूर्व प्रधानपञ्च लक्ष्मी प्रसाद माखिम, किरात याक्थुङ चुम्लुङ वडा शाखा दुर्दिम्बा अध्यक्ष विवश अनुराग वाजी, स्वास्थ्य चौकी दुर्दिम्बा ईन्चार्च सुरेश यादव, अतिरक्ति हुलाक कार्यालय प्रतिनिधि गणेश कार्की, भगवती माध्यमिक विद्यालय शिक्षक गोविन्द पङ्याङगू , सिंहदेवी आ.वि. शिक्षक कुमार श्रेष्ठ, संघ संस्था लगायत दुर्दिम्बाबासी याक्थुङ /लिम्बूहरुको वाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम हाङसारी टोल विकास समाज समिति अध्यक्ष जीवन ज्योति माखिमको अध्यक्षतामा सम्पन्न भएको थियो । गोर्खा बहुमत आधारभूत विद्यालय प्र.अ. पूर्ण बहादुर इमेहाङले स्वागत मन्तव्य राखेका थिए भने संचालन राम बहादुर वाजीले गरेका थिए ।
कार्यक्रममा लिम्बू जातिको नाच केलाङ, पालाम लगायत सांस्कृतिका कार्यक्रम समेतको आयोजना गरेको थियो ।