धरान, २१ मङ्सिर/ साङ्धुङगेहाङ् सेरेङ वंशको “वंशावली लेखन सम्बन्धी छलफल कायर्क्रम“मा वंशावली लेखनको मूल रूपरेखा तयार गरेको छ ।
मंगलबार पारामाउण्ट ईन्टरनेशनल एजुकेशन प्रा.लि. धरानको भवनमा साङ्धुङगे मासेरेङ यक सङजुम्भो तदर्थ समिति, धरानद्वारा आयोजित २०७९ मंसिर १७ देखि २० गतेसम्मको ४ दिने साङ्धुङगेहाङ् सेरेङ वंशको “वंशावली लेखन सम्बन्धी छलफल कायर्क्रम“ अन्तर्गत विविध विषयमा गंभीर छलफल गरी सर्वसम्मत तथा सौहार्दपूर्ण वातावरणमा ऐतिहासिक निर्णयहरू गर्दै सम्पन्न भएको छ ।
वंशावली लेखन सम्बन्धी छलफलमा सेरेङ वंशको उत्पत्ति, माङगेन्ना मुन्धुम, वंश पहिचान, संस्कार तथा संस्कृति लगायतका विषयहरूमा व्यापक छलफल गरी कालक्रम निर्धारण गरी साङ्धुङगेहाङ् सेरेङ्लाई सेरेङ वंशको प्रथम पुरूष यकिन गरी केरेङहाङ (सिसिगेन सेरेङ) ७५० ई. लाई पुस्ता एक गणना गरी हालसम्म ५४ पुस्तासम्मको इतिहास तथा वंशावली लेखनको रूपरेखा तयार गरिएको छ ।
रूपरेखाबाट साङ्धुङगेहाङ् सेरेङ वंशका साम्याङखाम, लङ्वा, चोङ्वाङ, मादेन, हाङगाम, लिङ्थेप, नाल्बो, केदेम, तुम्बाहाङ्फे, पेकसोमा र थुयुमा समेत ११ थर(सङ्/सुमा)हरूको माङगेन्ना यक, माङगेन्ना मुन्धुम, मिङ्स्रा यकिन तथा वंशावली लेखनमा एकरूपता हुनेछ । विगत ६ महिनाको निरन्तर बैठक, छलफल तथा हालको ४ दिने छलफल कार्यक्रमको सफलताका लागि माथि उल्लेखित थरका सदस्य, प्रतिनिधि तथा अध्यक्ष ज्यूहरूको अहोरात्र प्रयासबाट संभव भएको हो ।
सेरेङ साम्याङखाम वंशावली सम्पादक औधबहादुर साम्याङखाम, सेरेङ मादेन वंशावली सम्पादक तथा अध्यक्ष गोपाल सेरेङ मादेन, सेरेङ नाल्बो वंशावली सम्पादक सेसेमी सेरेङ नाल्बो, सेरेङ हाङगाम वंशावली सम्पादक हरि सेरेङ हाङगाम, सेरेङ केदेम वंशावली सम्पादक डम्बर सेरेङ केदेम, सेरेङ लङवा वंशावली सम्पादक कर्ण सेरेङ लङवाहरुको उपस्थितिमा सो साङ्धुङगे सेरेङ वंशको वंशावली लेखनको मूल रूपरेखा तयार भएको लिङथेप कल्याणकारी समिति इतिहास तथा वंशावली उप–समिति अध्यक्ष उत्तमकुमार लिङथेपले वताए ।
४ दिने छलफल कार्यक्रमले मेरिङ्देन गाउँपालिका वडा नं. ५ थुकिमाको मासेरेङ्लाई माङगेन्ना यक मान्ने साङ्धुङगे सेरेङ वंशका दाजुभाई तथा पहिचान सेरेङ् बंशजसँग रहेका विभिन्न ऐतिहासिक दस्तावेज मोहर, रुक्का, मुचुल्का, अंशवण्डाका कागजातहरु सेरेङ् बंशजहरुबाट प्रकाशित विभिन्न बंशावलीहरु विभिन्न स्वदेशी तथा विदेशी इतिहासकारहरुका पुस्तकहरु, विभिन्न मितिमा गरिएका सहमति मुचुल्काहरु, विभिन्न समयमा सेरेङ् बंशका थरहरुले गरेका निर्णयहरु समेतको विस्तृत अध्ययन अनुसन्धान तथा छलफलहरु, हामी सेरेङ बंशहरुको माङगेन्ना मुन्धुम, थातथलो, किपट, घरखडेरी, धारो, चौतारो, आदि साथै पिता पूर्खाहरुबाट सुनिँदै आएका जनश्रूति/इतिहासहरु समेतबाट दाजुभाई बंश हुन भनी स्पष्ट देखिएका साङ्धुङगे सेरेङ्हाङ वंश सन्तानहरु ः साम्याङ्खाम, लङ्वा, चङबाङ, मादेन, हाङगाम, लिङ्थेप, नाल्बो, केदेम, थुयुमा, तुम्बाहाङ्फे, पेकसोमा समेत ११ थरीहरु सेरेङ लिम्बू बंशज भएको निर्णय गरेको छ । लिम्बू जातिमा एकै मिङ्स्रा, एकै माङगेन्ना यक र एकै संस्कार तथा संस्कृति भएका बंशजहरु दाजुभाई मानिने भएकोले अब उप्रान्त माथि उल्लेखित बंशहरुलाई एकै रक्त सम्बन्धका दाजुभाई मानी आपसी भाईचारा सम्बन्ध कायम गर्ने र आ–आफ्नो बंशको बंशावली लेख्दा माथि उल्लेखित थरलाई बंश मानी अनिवार्य उल्लेख गर्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा मुन्धुङगे तथा साङ्धुङगे बंशका सम्बन्धमा इमानसिं चेम्जोङको किरात इतिहास लगायत विभिन्न लिम्बू बंशावलीहरु एवं पुस्तकहरुमा भिन्न – भिन्न विवरण, भिन्न घटना, दाजुभाईको फरक संख्या, फरक भूगोल तथा इतिहास लेखिए पनि माथि उल्लेखित स्रोतहरुको अध्ययनबाट तेन्देहाङको छोराहरु साङ्धुङगे र मुन्धुङगे दुई दाजुभाई मात्र रहेको देखिएकोले साङ्धुङगेहाङ् बंशका ११ थरीहरुले सोही बमोजिम आ–आफ्नो बंशावलीमा नाम, संख्या र पुस्ता उल्लेख गर्ने समेत निर्णय भएको छ ।
मुख्य मिङ्स्रा मिक्वाखोला शिरमा रहेको सोधुङ वरक बसोबास गर्ने मुन्धुङगेहाङ र साङ्धुङगेहाङ् दुई दाजुभाईहरु मध्ये सेरेङ बंशका साङ्धुङगेहाङ्लाई मूल पुरुष मानी साङ्धुङगेहाङ सेरेङ बंशको माङगेन्ना मुन्धुममा दाजुभाई छुट्टिन्दा दाजु मुन्धुङगेहाङ लिवाङ गई साप्तोकनेम्बामा आफ्नै यक वनाई बसेको र भाई साङ्धुङगेहाङ मिक्वाखोलाको मासेरेङ आई मेरिङ्देन, मासेरेङ् यक बनाई वसोबास गर्न थालेका हुनाले सेरेङ बंशजले साङ्धुङगेहाङ सेरेङ्लाई प्रथम पूर्खा मिङ्स्रा मान्ने सहमति भएको छ ।
साङ्धुङगे मासेरेङ यक सङजुम्भो तदर्थ समितिले काम गरी रहेको र बंशावली लेखनका लागि छाता संगठनका रुपमा दिएको गहन जिम्मेवारीलाई पूरा गरेकाले यस समितिलाई थप पूर्णता दिन साङ्धुङगे मासेरेङ यक सङजुम्भो तदर्थ केन्द्रीय समिति, धरान नामक गैर नाफामूखी संस्था विधिवत रुपमा गठन गरी सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता गरी संचालन गर्ने निर्णय गरेको छ । जसमा सेसेमी सेनाल्बोको अध्यक्षतमा ७ सदस्यीय तदर्थ केन्द्रीय समिति चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः औधबहादुर साम्याङ्खाम, उतमकुमार लिङ्थेप र गोपाल सेरेङ मादेन रहेका छन् भने सदस्यहरुमा क्रमशः कर्ण लङ्वा, डम्बर केदेम र हरि हाङगाम निर्वाचित भएको साङ्धुङगे मासेरेङ यक सङजुम्भो तदर्थ समिति अध्यक्ष सेसेमी सेनाल्बोद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति उल्लेख भएको छन् ।