नेपाल पत्रकार महासंघ झापाको साधारणसभा कातिक २५ गते हुने

नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा कातिक २५ गते शुक्रबार हुने भएको छ ।

आइतबार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्य समितिको बैठकले वार्षिक साधारणसभा कातिक २५ गते बिर्तामोडस्थित अतिथि सदनमा ११ बजेबाट गर्ने निर्णय गरेको हो ।

महासंघको वार्षिक साधारणसभामा सचिव डिकेश लामाबाट सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रञ्जित प्रसाईंबाट आर्थिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरु पेस हुने उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

महासंघ केन्द्रीय समितिले जिल्ला शाखाहरुको साधारणसभा कातिक मसान्तभित्र गरिसक्नुपर्ने निर्णय गरे बमोजिम झापा शाखाले तोकिएको समयसीमाभित्रै साधारणसभा गर्न लागेको बताइएको छ । झापा शाखामा हाल महासंघका साधारण सदस्य २ सय ६१ जना रहेका छन् ।

गत असोज ५ र ६ गते भक्तपुरको नगरकोटमा सम्पन्न केन्द्रीय समितिको बैठकले शाखाको साधारणसभा कातिक मसान्तसम्म, महासंघ प्रदेश समितिको साधारणसभा मंसिर १५ गतेदेखि पुस १ गतेसम्म र केन्द्रीय समितिको साधारणसभा पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गर्ने निर्णय गरेको थियो ।

साधारणसभा सम्बन्धी केन्द्रको निर्णय सहितको सर्कुलर झापा शाखाका सबै सदस्यहरुलाई एक महिनाअघि नै इमेल तथा सामाजिक सञ्जाल मार्फत जानकारी गराइएको सचिव लामाले बताए ।

सम्बन्धित खवर