बन्द स्थगन गर्न चार बुँदे सहमति गर्दै पाथीभरा विवाद तत्काललाई समाधान

झापा/  मुक्कुमलुङ् बचाऔं आन्दोलनरत पक्ष र आयोजकवीच चार बुँदे सहमति भएपछि ताप्लेजङ बन्द खुलेको छ ।

मुक्कुमलुङ् बचाऔं संघर्ष समितिले पाथीभरा नाम नमान्ने भनेर महोत्सव स्थगन गर्न आग्रह गर्दै आएपनि अन्ततः ताप्लेजङ बन्द नै गरेपछि मात्र आयोजक सहमतिमा आएको हो ।

सोमबार आन्दोलनरत पक्ष र आयोजक वार्तामा बसेपछि चार बुँदे सहमति भएको छ । सहमति अनुसार पाथीभरा म्याराथन महोत्सवको सट्टा ताप्लेजङ म्याराथन महोत्सव राखिने भएको छ । त्यसैगरी महोत्सवको सन्दर्भमा तयार गरिएका ब्यानर गेट शिल्ड प्रमाणपत्र अडियो भिडियो जिङगल लगायत सबैमा उल्लेख भएको पाथीभरा शब्द हटाएर ताप्लेजङ लेख्ने सहमति भएको छ ।

तेस्रो बुँदामा किरात याक्थुङ चुम्लुङ थरगत थुमगत लगायतले असोज ९ गतेदेखि १३ गतेसम्मको बन्द हड्ताल स्थगन गर्ने सहमति भएको छ ।

चौथो बुँदामा सहमतिका बुँदाहरु कार्यान्वयन भए नभएको अनुगमन गर्न दुबै पक्षबाट ३/३ जनाको अनुगमन समिति गठन गर्ने निर्णय भएको छ ।

अनुगमन समितिमा आयोजक पक्षबाट रकि थेपे,शुरेस लिम्बु,दावा शेर्पा रहेका छन । त्यसैगरी आन्दोलनरत पक्षबाट प्रदिप मादेन नबिन फुरुम्बो,सरोज कङ्लिबा रहेका छ्न ।

वार्तामा आयोजकको तर्फबाट पाथीभरा संरक्षण समितिका संयोजक तारानाथ घिमिरे,पाथीभरा संरक्षण बिकास अध्यक्ष रकि थेवे,नारायण थापा सहभागी थिए । त्यसैगरि आन्दोलन पक्षबाट मन्दिरा मेयाङ्बो,बिबिहाङ वनेम र दिपक ताक्मादेन रहेका थिए ।