- पोक्लाबाङ न्यूज
धरान, २२ भदौ/ साङधुङगे सन्तानको एक छलफल तथा के’ को परिचय“ विषयक गोष्ठी सम्पन्न भएको छ ।
बुधबार केदेम संघ, धरानको केन्द्रीय कार्यालयमा साङधुङगे सेरेङहाङ वंशका ९ थरी (नाल्बो सेरेङहाङ,साम्याङखाम सेरेङहाङ, चोङवाङ सेरेङहाङ, मादेन सेरेङहाङ, लिङथेप सेरेङहाङ, केदेम सेरेङहाङ, हाङगाम सेरेङहाङ, लङवा सेरेङहाङ र तुम्बाहाङफे सेरेङहाङ) दाजुभाइहरूलाई एकिकृत गरी भाइचारा सम्बन्ध व्यवस्थित गर्न एउटा छाता संगठन निर्माण गर्ने ऐतिहासिक निर्णय सर्व सम्मतिले पारित गरेको हो ।
यो छाता संगठन स्थापनाको प्रमुख उद्धेश्य मिक्वाखोलाका साङधुङगे वंशको इतिहास तथा वंशावली लेखनमा सहजीकरण गर्नु रहेको छ । सो उद्धेश्य प्राप्तिका लागि वरिष्ठ पत्रकार तथा साहित्यकार एवं नाल्बो वंशावली सम्पादक/लेखक सेसेमी सेरेङ नाल्बोको संयोजकत्वमा १९ सदस्यीय रहेको साङ्धुङगे मासेरेङ् यक सङ्जुम्भो तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिमा सह संयोजकमा प्रेम मादेन, सचिवमा उत्तमकुमार लिङथेप, सदस्यहरूमा क्रमशः पञ्चबहादुर साम्याङखाम, केशव साम्याङखाम, डम्बर केदेम, शेरबहादुर केदेम, सोम मादेन, चैतन्य केदेम, मानबहादुर चोङवाङ र इन्द्र प्रसाद नाल्बो चयन भएका छन् भने बाँकी रहेका हाङगाम, लङवा र तुम्बाहाङफे वंशहरूबाट २/२ जना सदस्यहरू आमन्त्रण गरिनेछ भने चोङवाङ र लिङथेप वंशबाट थप १/१ जना सदस्य मनोनित गरिने संयोजक सेसेमी सेनाल्बो वताए ।
साङधुङगे वंशको साझा संस्थाको रूपमा स्थापित गर्न केदेम सेरेङहाङ वंशावली प्रकाशन समितिको आयोजनामा “साङधुङगे सन्तानको एक छलफल तथा के’ को परिचय“ विषयक गोष्ठी केदेम वंशावली प्रकाशन समिति केन्द्रीय संयोजक चैतन्य केदेम सेरेङहाङ ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।
गोष्ठीमा साङधुङगे सेरेङहाङ भित्रका नाल्बो सेरेङहाङ,साम्याङखाम सेरेङहाङ, चोङवाङ सेरेङहाङ,मादेन सेरेङहाङ,लिङथेप सेरेङहाङ,केदेम सेरेङहाङ वंशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।