दमक, २१ भदौ /
लिम्बू जातिमा लिम्बू भाषाको मोह घट्दै गएको पाइएको छ भने अन्य जातिमा भाषाको मोह बढ्दै गएको देखिएको छ । यस्तो अवस्था दमक नगरपालिका वडा न.ं ७ स्थित श्री पृथ्वी मा.वि. मा ऐच्छिक विषय लिम्बू भाषा अध्ययन गर्ने छात्र छात्राहरुको तथ्याङ्कले देखाएको छ ।

दमक नगरपालिकाले शैक्षिक सत्र २०७८ देखि लागु हुने गरी लिम्बु लिम्बू गरी अघि सारे अनुरुप शैक्षिक सत्र २०७८ देखि पृथ्वी मा.वि.मा एकजना लिम्बू भाषा शिक्षक नियुक्ति गरी १०० पुर्णाङ्कको लिम्बू भाषा ऐच्छिक विषयको रुपमा पढाई हुँदै आइरहेको छ । सोहि अनुरुप अहिले लिम्बू भाषा शिक्षक दिपेन्द्र सेलिङ्ले लिम्बू भाषा पढाईरहेका छन् । यो भन्दा अगाडि पनि यस विद्यालयमा लिम्बू भाषा स.शि. नन्दा लिम्बूले पढाउँदै आएकी थिइन् ।
किरात याक्थुङ् चुम्लुङको ३४ औं स्थापना दिवसको पावन अवसरमा शुभकामना बाँड्दै श्री पृथ्वी मा.वि.मा लिम्बू भाषा अध्ययन गर्ने छात्र छात्राहरुलाई शैक्षिक सामग्री वितरण क्रममा विद्यार्थीको यथार्थ संख्या हेर्ने मौका मिल्यो । लिम्बू भाषा शिक्षक दिपेन्द्र सेलिङ्ले जानकारी दिए अनुसार लिम्बू भाषा अध्ययन गर्ने ९० जना विद्यार्थी मध्ये २२ जना मात्र लिम्बू विद्यार्थी रहेको पाइयो । अन्य ६८ जना विद्यार्थी राई, क्षेत्री, बाहुन, शाह, मगर, तामाङ् लगायतका जातिहरु रहेको पाइयो । यस आँकडाले लिम्बू जातिमा लिम्बू भाषाको मोह घट्दै गएको र अन्य जातिमा लिम्बू भाषाको मोह बढ्दै गएको देखाएको छ।
शैक्षिक सामग्री वितरण कार्यक्रमको भेटघाटमा दमक नगरपालिका वडा न.ं ७ का वडाध्यक्ष भिमप्रसाद पौड्यालले लिम्बू भाषा पढ्ने लिम्बू जातिका छोराछोरी कम भएपनि अन्य जातिका छोरा छोरीले मजाले रुची लिएर पढ्दै आएको देखेर खुशी व्यक्त गर्नुहुँदै भाषा कुनै एक जातिको मात्र पेवा नभएको प्रतिक्रिया दिनुभयो । भाषाको माध्यमबाट अरुको शिक्षामा भएको हरेक मानवी उत्प्रेरक ज्ञान, गुण र व्यावहार सिक्न सकिन्छ जो जीवन पद्धतीमा अत्यन्तै उपयोगी हुन सक्छ ।
यसैगरी विद्यालय प्र.अ. विष्णुकुमार राईले लिम्बू विद्यार्थी कम भएपनि अन्य जातिले रामरीलिम्बू भाषा पढ्दै आएको र आजसम्म कुनै अवरोधका कुराहरु विद्यालयमा नभएकोले लिम्बू भाषासँग सम्बन्धित संघ–संस्था, भाषा अभियन्ता र स्थानीय सरकारले यस कार्यक्रमलाई हरेक कोणबाट सहयोग पुर्याउँदै जान अनुरोध गर्नुभयो ।
भाषा शिक्षक दिपेन्द्र सेलिङ्ले विद्यालयमालिम्बू विद्यार्थीहरुले लिम्बू भाषा पढ्न चाहेपनि अभिभावकले लिम्बू भाषा पढ्न नदिएको तितो अनुभव सुनाउनुभयो ।
किरात याक्थुङ् चुम्लुङ पूर्व केन्द्रीय उपाध्यक्ष, समाजसेवी धिरेन लाओतीले लिम्बू भाषा पढ्नमा लिम्बू जातिमा केहि अरुचि भएजस्तो देखिए पनि विस्तारै विस्तारै मोह बढ्दै आएको पाइन्छ । लिम्बू भाषामा भएको व्यावहारिक शिक्षाको उपयोगको वारेमा लिम्बूजन्य संघसंस्थाहरुले प्रेरणादायिक जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने सुझाउनुभयो ।
कार्यक्रममा उपस्थित कियाचु संघीय सदस्य इक्सा सम्बाहाङ्फे, राष्ट्र्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे, कियाचु प्रदेश सदस्य कविन्द्र सेर्मा, कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाक, याक्थुङ् लेखक संघ केन्द्रीय कोषाध्यक्ष/कवि साङ्सेन पंधाक, कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्, लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक कुलपति सेसेमी सेनाल्बो, लिम्बू स्रष्टा रचना लाओती, पत्रकार डिल्लीश्वर मुसाहाङ् अम्याङसा लगायतका महानुभावहरु पृथ्वी मा.वि. मा अध्ययन गर्ने लिम्बू विद्यार्थीहरुको आङकडा देखेर लिम्बू भाषाको मोह बढाउन जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेर अभिभावकमाझ जानुपर्ने कुरा सुझाउनुभएको छ ।
यसैबिच किरात सिरिजङगा लिपि र लिम्बू भाषा उत्थान, विकास, संरक्षण संबद्र्धन गर्न लागिपरेका संघ–संस्था, अभियन्ता र धार्मिक संघ–संस्थाहरू कुन भाषिक नीतिमा अलमलिरहेका छन् भन्ने कुरामा जनचासो बढेको देखिन्छ ।
