सिरिजङगा टोलको सातौ बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षतामा चाँदनी सेर्मा निर्वाचित

दमक १८ भदौ / सिरिजङगा टोल विकास संस्थाको ७औं बार्षिक साधारण सभा आज सम्पन्न गरेको छ ।

शनिबार झापाको दमक १ येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनमा दमक नगरपालिका १ का वडा सदस्य राजकर्ण राईको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।

संस्थाको ७ औं साधारण सभाले चाँदनी सेर्माको अध्यक्षतामा विधाननत ३ सदस्यीय समिति चयन गरेको छ । उक्त समितिको सचिवमा सिर्जना माखिम र कोषाध्यक्षमा मित्रता राई सर्व सम्मतबाट निर्वाचित भएका छन् । सो समितिको कार्यवधि एक बर्ष रहेको छ ।

साधारण सभामा प्रस्तुत प्रतिवेदनमा टोलमा आवद्ध जम्मा ८४ घरधुरी रहेको छ । पुरुष संख्या ११५ र महिला संख्या १३२ गरी जम्मा २५७ जनसंख्या रहेको छ ।
संस्थाको कुल बजेट ८ लाख ७४ हजार १ सय २६ रुपैया बराबरको रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । साधारण सभाले संस्थाले गरेका प्रगति प्रतिबेदन र १४ बुँदे भावी कार्य योजनाहरु अनुमोदन गरेको अध्यक्ष नाल्बोले बताए ।

कार्यक्रममा लुङधुङ टोल विकास संस्था सचिव डिल्लीश्वर मुसाहाङ अम्याङ्सा, हिमालय टोल विकास संस्था सचिब बिजय राई, किरात याक्थुङ चुम्लुङ पुर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओती, सिरिजङगा टोलका संस्थापक अध्यक्ष इक्सा सङबाङफे, टोल पुर्व अध्यक्ष रिता खड्का, रचना लाओती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सिरिजङगा टोल विकास संस्था अध्यक्ष सेसेमी सेनाल्बोको सभाध्यक्षमा सम्पन्न भएको थियोे भने सचिब मालती लाओती (थापा मगर) ले सञ्चालन गरेकी थिइन् ।