कियाचु झापा शाखाको नियमित बैठक सम्पन्न

पोक्लाबाङ न्यूज

दमक, ४ भदौ/  किरात याक्थुङ् चुम्लुङ् झापा शाखाको नियमित बैठक आज सम्पन्न गरेको छ ।

शनिवार किरात याक्थुङ् चुम्लुङ् झापा शाखा चुम्लुङहिममा बसी निस्क्रिय शाखाहरुलाई विघटन गरी परापर्श समिति तोक्ने निर्णय पारित गरेको छ । बैठकले निष्क्रिय जिल्ला चुम्लुङ् सदस्यहरु समेत पद मुक्त गरेको छ ।
कियाचु जिल्ला शाखाको प्रत्येक महिनाको पहिलो शनिवार बस्दै आएको नियमित बैठकलाई निरन्तरता दिँदै एउटा नगर शाखा, एउटा गाउँ शाखा र निष्क्रिय तीन जना जिल्ला सदस्यहरुलाई पदमुक्त गरेको हो ।


निष्क्रिय चुम्लुङ शाखाहरु शिवसताक्षी नगर शाखा र बाह्रदशी गाउँ शाखा रहेका छन् भने ३ जना जिल्ला चुम्लुङ् सदस्यहरुमा गौरव लिम्बु, भिमराज फियाक र जयकुमारी चेम्जोङ् रहेका छन् ।

निष्क्रिय चुम्लुङ् शाखाहरुलाई विगत लामो समयदेखि नगर गाउँ अधिवेशन सम्पन्न गर्न, गराउन जिल्लाबाट पत्रचार गरिएता पनि सुनुवाई नभएको र आन्तरिक परामर्श गर्दा पनि समयसिमाभित्र नगर र गाउँ अधिवेशन गर्ने तदारुकता नदेखाए पछि नगर शाखा र गाउँ शाखा समिति विघटन गरिएको जिल्ला समितिले जनाएको छ ।

किरात याक्थुङ् चुम्लुङको मूल विधान २०४६ को अधिनमा रही निर्माण गरिएको चुम्लुङको बैधानिक नियमावली–२०५१ को आधारमा निस्क्रिय नगर र गाउँ शाखालाई विघटन गरी पुनः सक्रिय शाखा समिति गठन गर्ने व्यवस्था भए बमोजिम कियाचु शिवसताक्षी नगर कार्य समितिलाई विघटन गरी सो नगरमा चुम्लुङको संगठनलाई क्रियाशिल बनाउनको निमित्त राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे लिम्बुको संयोजकत्वमा पाँच सदस्यीय परामर्श समिति समेत गठन गरी नगर अधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्ने जिम्मेवारी प्रदान गरेको जनाएको छ । जसमा सहसंयोजक जिल्ला सदस्य तथा पूर्व राष्ट्रिय चुम्लुङ् सदस्य शिवकुमार मेन्याङ्वो र सदस्यहरुमा किरण लिङ्देन, दिल सेरेङ् र दुर्गा चेम्जोङ्लाई तोकेको छ । यस परामर्श समितिले शिवसताक्षी नगरवासी बैधानिक नियमावलीले तोकेबमोजिम किरात याक्थुङ् चुम्लुङ्का विशिष्ठ सदस्य, संरक्षक सदस्य, आजीवन सदस्य र सक्रिय चुम्लुङ् कार्यकर्ताहरुलाई भेला गराई नगर अधिवेशन आयोजक समिति गठन गर्ने पनि जनाएको छ ।

 

त्यसैगरी हल्दिवारी गाउँ शाखा समितिलाई विघटन गर्दै कियाचु संरक्षक सदस्य सुवेदार पदम बहादुर हुक्पाचोङ्वाङको संयोजकत्वमा तीन सदस्यीय परामर्श समिति गठन गरेको छ । समितिको सदस्यहरुमा पदमबहादुर फागो र भिमा नेम्बाङ्् कन्दङ्वा रहेको छ ।
नियमित बैठकमा संस्थाका अध्यक्ष सेसेहाङ् फियाकले पेश गरेको मिति २०७९ जेठदेखिको साउन मसान्तसम्मको १ लाख १ हजार ८ सय ९० रुपैयाँ बराबरको आय–व्ययलाई आवश्यक बिल भर्पाई चेक गरी आगामी बैठकमा अनुमोदन गर्ने निर्णय बैठकले गरेको थियो ।
यहि भदौ १७ गते पर्न आउने किरात याक्थुङ् चुम्लुङको ३४औं स्थापना दिवस विर्तामोडस्थित अतिथि सदनमा विविध कार्यक्रमका साथ सम्पन्न गर्ने समेत निर्णय गरेको छ । त्यस कार्यक्रममा कियाचु झापाका जीवित पूर्व अध्यक्ष टेकबहादुर योङ्हाङ, पूर्णसिं साम्बा, टेकबहादुर आङ्देम्बे (भरत) र भक्त खेबाङ्लाई सम्मान गर्ने समेत निर्णय पारित गरेको जनाइएको छ ।

आसन्न आदिवासी जनजाती महासंघ समन्वय समिति झापाको भदौ ११ गते सम्पन्न हुने आसन्न अधिवेशनमा सक्रिय सहभागी जनाउने निर्णय गर्दै चुम्लुङ तर्फबाट ओमप्रकाश खापुङ्लाई प्रतिनिधि पठाउने समेत निर्णय गरेको छ ।

बैठकमा किरात याक्थुङ् चुम्लुङ झापा शाखा जिल्ला समिति/चुम्लुङहिममा अध्यक्ष सेसेहाङ् फियाक लिम्बुको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।