फर्निचर तथा फर्निसिङ व्यवसायी र कामदारलाई करकाे दायरामा आउन संघको माग

  • मन कुमार गदाल

दमक,साउन १८/ फर्निचर तथा फर्निसिङ सम्वन्धि काम गर्ने कामदार र व्यवसायीलाई सरकारले करको दायरामा ल्याउन फर्निचर तथा फर्निसिङ व्यवसायी संघ नगर समिति दमकले आग्रह गरेको छ ।

आज दमकमा पत्रकार सम्मेलनको आयोजना गरेर दमक क्षेत्रमा रही पसल दर्ता नगरी सञ्चालनमा रहेका पसल र कामदारलाई स्थानीय सरकारले करको दायरामा ल्याउन माग गरिएको हो ।

उनीहरुलाई करको दायरामा ल्याउन राज्यका विभिन्न निकायलाई ज्ञापन पत्र समेत बुझाएका थिए । उपभोक्ता तथा कामदारको हक हितलाई मध्यनजर गरेर पसलहरु दर्ता भए नभएको सहि पहिचान गरी उनीहरुको पसल दर्तालाई प्रक्रियामा लगेर दर्ता गर्न प्रेरित गर्ने निर्णय समेत गरेको संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले बताए ।

३ दिन सम्म दमक आसपासमा करको दायरामा आउन सार्वजनिक सूचना समेत गर्ने गरेको संघले जनाएको छ । पत्रकारको जिज्ञासामा दमक क्षेत्रमा फर्निसिङ सम्वन्धि काम गरी रहेका ३० दक्ष कामदारहरुको कामको अवलोकन गर्दा २६ भारतीय कामदार र ४जना नेपाली कामदार भेटिएको संघकी उपाध्यक्ष लक्की सिटौला विन्दुले बताईन ।

करको दायरामा नरहेका फर्निसिङको काम गर्ने नेपाली कामदार भन्दा पाँच सय हाराहारीमा भारतीय नागरिकहरु रहेको उपाध्यक्ष सिटौलाले बताए । दर्ता विना अर्थात सम्झौता नगरी घरको काम गर्ने क्रममा पेश्की रकम लिएर फरार भएको उपभोक्ताको गुनासो पनि आउने गरेको फर्निचर तथा फर्निसिङ व्यवसायीहरुको गुनासो छ ।

हरेक उपभोक्ताले दर्ता विनाको कामदार तथा व्यवसायीहरुलाई काम नगराउन पनि फर्निचर व्यवसायी संघले अपिल गरेको छ ।