झापामा लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पोक्लाबाङ न्यूज डेक्स

विर्तामोड/ प्रदेश न.ं १ को नामाकरण पेचिलो बन्दै गएको समयमा झापामा प्रदेश न.ं १ को नामाङ्कनको सन्दर्भमा लिम्बुवान किरात प्रदेश विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार विर्तामोडस्थित होटल विनायकमा लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापाको संयोजनमा आयोजना गरिएको कार्यक्रममा साउन ५ र १० गते विराटनगरमा आयोजना गरिएको कार्यक्रमहरुको वारेमा व्यापक रुपमा प्रचार प्रसार गरिँदै आएको कुरा बताउनु हुँदै सहभागीहरुले प्रदेश न.ं १ नामाकरण सम्बन्धि निर्णायक आन्दोलन गर्नुपर्ने भएकोले आगामी साउन १७ गते विराटनगर केन्द्रीत दवावमूलक प्रदेश सभा धर्ना कार्यक्रममा झापाबासीहरु प्रदेश न.ं १ नामाकरण लिम्बुवान, किरात घोषणा हुनुपर्छ भन्ने आन्दोलनमा क्रियाशिल भएर लाग्न आव्हान गरेका छन्  ।

१ न.ंप्रदेशको नाम लिम्बुवान किरात प्रदेश घोषणा हुनुको विकल्प नरहेको बताउनु हुँदै पहिचानवादी राजनैतिक दल, सामाजिक संघ–संस्थाहरु मिलेर ऐतिहासिक पृष्ठभूमि भूगोलको आधारमा लिम्बुवान र खम्बुवानवासीहरू एक भएर प्रदेशको लिम्बुवान किरात प्रदेश हुनु पर्ने वताए  ।

कार्यक्रममा नेता, किरात याक्थुङ् चुम्लुङ् झापा सल्लाकार कृष्ण थेबे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रान्तिय उपाध्यक्ष बिष्णु भट्टराई, कियाचु लिम्बुवान प्रदेश सचिव इक्साहाङ् चेम्जोङ्, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रान्तीय सचिव तथा संयुक्त संघर्ष समिति कार्यदल सदस्य, प्रचार–प्रसार उप–समिति संयोजक दिलकुमार लाओती, कियाचु झापाका पूर्व अध्यक्ष तथा जसपा केन्द्रीय सदस्य भक्त खेवाङ्, याक्थुङ लेखक संघ केन्द्रीय कोषाध्यक्ष साङ्सेन पंधाक, याक्थुङ् मुन्चईत चोकसयङ् महासचिव बिक्रम वनेम फागो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय सदस्य दिपक योङ्हाङ्, प्रान्तीय सचिव सन्तोष तुम्वापो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जिल्ला उपाध्यक्ष अमित खम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च शिवसताक्षी नगर अध्यक्ष विचारी लाओती, कियाचु विर्तामोड नगर अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, कियाचु अर्जुनधारा नगर अध्यक्ष तिलसिं माङ्मु, पहिचानवादी कवि संगम सुहाङ् लगायतले मन्तव्य राखेका थिए ।

लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापा संयोजक सेसेहाङ् फियाक लिम्बुको अध्यक्षतामा संयुक्त संघर्ष समिति झापा सदस्य सचिव ओमप्रकाश खापुङले संचालन गर्नु भएको थियो ।