- डिल्लीश्वर मुसाहाङ अम्याङ्सा
विराटनगर , ५ साउन / १ नंं प्रदेशको नाम ’लिम्बुवान–किरात प्रदेश’ राखिनु पर्ने मागसहित विहिबार विराटनगरमा प्रदर्शन गरिएको छ । प्रदेशका विभिन्न जिल्लाबाट १ नं.प्रदेशको राजधानी विराटनगरमा आएका उनीहरुले प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न पर्ने मागसहित मुख्यमन्त्री राजेन्द्रकुमार राइलार्ई ज्ञापनपत्र बुझाएका थिए।
मुख्यमन्त्री राइले भने, ‘एमालेको पनि बहुपहिचानको कुरा छ‚ नेपाली काँग्रेसको पनि घोषणापत्रमा पहिचान भेटिने मूल नारा छ। सबै दलहरूको घोषणापत्रमा पहिचानको विषय उल्लेख छ।’ राजनीति गर्दा बोलेको कुरा पूरा गर्न सकिएन भने राजनीति नै छाड्न उनले आग्रह गरे।
‘लिम्बुवान किरात’ले नै प्रदेशको सभ्यता, साँस्कृतिक, मौलिकतालाई बोध गराउने भएकाले यसै अधिवेशनबाट नाम टुंगो लगाउनु पर्ने उनीहरुको माग रहेको छ ।
१ नम्बर प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न दबाब दिन जनप्रदर्शनमा सहभागी हुन पहिचानवादी दल तथा संघसंस्थामा आवद्ध संगठनका हजारौं कार्यकर्ता विराटनगर पुगेका थिए ।
जनप्रदर्शन कियाचु संघीय अध्यक्ष प्रेम येक्तेन, जसपा नेता रकम चेम्जोङ सलोराम अध्यक्ष कुमार लिङ्देन जसपा लिम्बुवान सम्बद्ध खगेन्द्र माखिम,माओवादी केन्द्र मुक्साम मेन्याङ्बो लगायत शीर्ष नेताले सम्बोधन गरेको थियो ।
किरात याक्थुङ चुम्लुङको समन्वयमा विभिन्न ३२ वटा राजनीतिक,समाजिक संघसंस्था संगठनहरुको आवद्ध ‘लिम्बुवान किरात संयुक्त संघर्ष समिति’ले आन्दोलन घोषणा गरेको हो ।
प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी ‘लिम्बुवान किरात’ प्रदेशको माग गर्दै पहिचानवादी दल तथा संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।