- पोक्लाबाङ न्यूज,
१ साउन, दमक / लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक झापाद्वारा सिसेक्पा तङनाम ५०८२ को अवसरमा आयोजित भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न भएको छ ।
आइतबार झापाको दमक १ स्थित येहाङनगरमा लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक झापाद्वारा सिसेक्पा तङनाम ५०८२ को अवसरमा आयोजित भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम याक्थुङ प्रज्ञा–प्रतिष्ठान नेपाल उप–कुलपति लछामी सेर्मा पापोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
‘माङहाङ राजाले मानव सभ्यता वचाए’ पापोले भने, ‘लोक कथाका अनुसार आदिम कालमा माङहाङ राजाले आफ्ना जनताहरु अनिकाल र दैविक प्रकोपमा परेका बेला सहासी कदम चालेर अनिकाल तथा दैविक प्रकोपबाट बचाएका थिए ।’ उनले भने, ‘सिसेक्पा तङनाम तिनै माङहाङ नामक एक पूर्खा, राजा वा खाद्य बैज्ञानिक र उनको जनतामा आइपरेको दैवीक प्रकोप तथा सामना गर्नु परेको कारुणिक कहानीसँग जोडेर मानिने गरिन्छ ।’
सिसेक्पा तङ्नामको दिन विहानै खेतबारीमा गई नयाँ पाकेका अन्न, फलफूल र पातहरू संकलन गरी ल्याइन्छ र दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मुल ढोकामाथि माला झुण्ड्याएर टाँगिने चलन रहि आएको छ । जसलाई साक्च्योङ भनिन्छ ।
यसैगरी साँझ आ–आफ्नो घरमा जे जस्तो भएको अन्न, फलफूल र अन्य परिकारहरू अरु दिन भन्दा अलि सबेरै बनाई तागेरा निवाभु?माङलाई चढाई शक्ति मागेर खाना खाई आ–आफ्नो घर वा समूह बनाई घर–घरबाट थाल र नाङ्लो ठटाउँदै नाक्नाम पेगो, हिङ्नाम् त्येओ (अनिकाल जाऊ सहकाल आऊ) भन्दै अगुल्टो राँको सहित खेदै परसम्म पु¥याइन्छ र अगुल्टो राँको थुपारेर बाटो छेकिन्छ, यसलाई साक्लाम्धेक भनिन्छ । यसको अर्थ अनिकाल फेरि नआओस् भन्ने मान्यता रहेको पाइन्छ ।
साउन महिनामा भटमास, मकै, बोडी पाकेकै समयमा अनिकाल भगाएर सहकाल बोलाएर मनाईने पर्वनै सिसेक्पा तङनाम (साउने संक्राति) रहेको याक्थुङ प्रज्ञा–प्रतिष्ठान नेपालका उप–कुलपति लछामी सेर्मा पापोले बताए ।
कार्यक्रममा याक्थुङ मुन्जईत चोक सयङ केन्द्रीय महासचिव/निर्देशक/रंगकर्मी वनेम विक्रम फागो, याक्थुङ लेखक संघ केन्द्रीय कोषाध्यक्ष साङसेन पंधाक, कियाचु लिम्बुवान प्रदेश समिति सदस्य कविन्द्र सेर्मा, कियाचु झापा पार्षद सदस्य गुमान सिं सङबाङफे, लिम्बू बिद्यर्थी मञ्च केन्द्रीय सचिव प्रविन सेलिङ, रंगकर्मी तथा याक्थुङ मुन्जईत चोक सयङ १ नं.प्रदेश सचिव चेतन आङथुपो, माङसेबुङ पव्लिकेशन एण्ड मिडिया प्रा.लि. का प्रवन्ध निर्देशक निवाहाङ थेबे, सह सम्पादक आन्छुमे नशान, कलाकार मनकुमार योङहाङ, सविरन राई, समाजसेवी मिलन लाओती, विष्णु केरुङ लगायतको उपस्थिति रहेको थियो ।
लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकका कुलपति सेसेमी से.नाल्बोको कुलपतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्राज्ञअर्थ रचना लाओतीले राखेकी थिइन भने संचालन प्राज्ञसचिव डिल्लीश्वर मुसाहाङ अम्याङसाले गरेका थिए ।