विराटनगर / प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ हुनुपर्ने भन्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।
आइतबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर १ को नाम पहिचानको आधारमा ‘लिम्बुवान, किराँत प्रदेश’ हुनुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका उपाध्यक्ष प्रेम मिभक, जसपाका केन्द्रीय सदस्य तथा लिम्बुवान उपाध्यक्ष जेन्टल लाओती , मुख्य सचिव केदार धिमाल, लिम्बुवान प्रान्तका महासचिव दिलकुमार लाओती लगायत संयुक्त संघर्ष समितिका विभिन्न संगठनहरुका नेताहरुको सहभागिता रहेको थियो ।
कियाचू प्रदेश अध्यक्ष मधराज केरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा राजनैतिक दलका प्रमुखहरु, संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन कियाचु प्रदेश १ का मुख्य सचिव नरेन्द्र केरुङले गरेका थिए ।
यसैगरि लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ हुनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
६ प्रदेशले नाम र राजधानी टुंगो लगाए सँगै दबाबमा रहेको प्रदेश १ सरकारलाई पहिचानको आधारमा नामकरण गर्न भन्दै संयुक्त संघर्ष समितिले सोमबार ज्ञापनपत्र बुझाएको हो ।
संयुक्त संघर्ष समितिले सोमबार मुख्यमन्त्रीको कार्यालय, संसदीय दलका नेता, पार्टी प्रमुख, प्रदेश प्रमुखल गायतलाई ज्ञापनपत्र बुझाएका छ ।
ज्ञापन पत्रमा प्रदेश २ को नाम पहिचानको आधारमा मधेश प्रदेश राखिएको स्मरण गराउँदै नेकपा एमाले, नेपाली काँग्रेसलगायत दलहरू पहिचान बिनाको नामकरण गर्न तयार रहेकोप्रति समितिले ध्यानाकर्षण गराएको छ ।
संयुक्त संघर्ष समितिले ०६२/०६३ को जनआन्दोलन, लिम्बुवान आन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेश आन्दोलन, दलित पिछडावर्ग आन्दोलनहरूको जनादेश अनुसार ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानको आधारमा ‘लिम्बुवान, किरात प्रदेश’ नामकरण गर्नुपर्नेमा जोड दिएको छ ।
संविधानसभाको विषयगत समिति र राज्य पुनःसंरचना उच्चस्तरीय आयोगबाट सिफारिश भए बमोजिम पहिचानमा आधारित प्रदेशको नाम सुनिश्चित गर्न संघर्ष समितिले आन्दोलन जारी राख्ने जनाएको छ ।
ज्ञापनपत्रमा नेकपा माओवादी केन्द्र आबद्ध लिम्बुवान राष्ट्रिय मोर्चा, जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च लगायत ३२ पहिचानवादी संघ संस्थाको समर्थन रहेको उल्लेख गरिएको छ ।
आन्दोलनका कार्यक्रम अन्तरगत असार २८, २९ र ३० गते किरात याक्थुङ चुम्लुङको जिल्ला कार्य समितिको समन्वयमा जिल्लास्तरीय समिति गठन गर्ने, ३२ गते प्रदेशका सबै जिल्लामा कोणसभा गर्ने विज्ञप्तिमा उल्लेख छ ।
साउन ५ गते प्रदेश १ को राजधानी विराटनगरमा बृहत जनप्रदर्शन गर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक)ले जानकारी दिए ।