माङ्सेबुङ गाउँपालिकामा लिम्बू भाषा, सरकारी कामकाजी भाषा

  • पोक्लाबाङ न्यूज 

दमक ९ असार / माङ्सेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजीको भाषा बनाउने भएको छ ।

गाउँपालिकाको ११ औ गाउँसभाले नीति तथा कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजीको भाषा बनाउने घोषणा गरेको हो । माङ्सेबुङ गाउँपालिकामा बहुल्य जनसंख्याले बोल्ने लिम्बू भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने भएको हो । पालिकामा लिम्बू भाषिक कर्मचारीको व्यवस्था गरि कार्य संचालन गर्ने बताइएको छ ।

लिपिमा किरात सिरिजङ्गा लिपिको प्रयोग गरिने छ । गाउँपालिकाभित्र ३६ प्रतिशत रहेको राईहरुको मध्यनजर गर्दै आगामी आर्थिक वर्षमा वान्तावा भाषिक कर्मचारीको व्यवस्था गरिने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

माङ्सेबुङ गाउँपालिकामा ४३ प्रतिशत लिम्बू र ३६ प्रतिशत राई जातिहरूको बसोबास रहेको छ । पालिकाभित्र सबैभन्दा धेरै लिम्बूहरूको बसोबास रहेको छ । जातिय बहुसंख्यकको आधारमा प्रत्येक वडामा भाषिक कर्मचारीहरुको व्यवस्था गरिने नीति कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको सम्मानको लागि फाल्गुनन्द मार्गको नामकरणको लागि पहल र फाल्गुनन्द पार्क निर्माण गर्ने जनाइएको छ । पालिकामा सम्पुर्ण जातिहरुको भाषा, लिपि, धर्म, कला सस्कृतिको संरक्षण सम्बर्द्धनको लागि नीति अवलम्बन गर्ने भएको छ ।

यसअघि माङ्सेबुङ ५ मा २०७५ साल देखिनै लिम्बू भाषा कामकाजी भाषा घोषणा भएको थियो ।