दमक नगरले स्थानीय सरोकारवालाहरुसँग थाल्यो सुझाव संकलन

दमक / दमक नगरपालिकाले आगामी आर्थिक बर्ष ०७९/०८० को योजना तर्जुमा तथा बजेटमा समेट्नु पर्ने बिषयमा सुझाव संकलन गर्न शुरु गरेको छ ।

सोमबार नगरपालिकामा पत्रकारहरुका साथै विभिन्न संघ संस्थाका प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरुसँग आगामी बजेटमा समेट्नु पर्ने विषयहरुको सुझाव समेत माग गरेको छ ।

बजेट तथा योजना तर्जुमा समिति संयोजक तथा नगर उप–प्रमुख रेगिना भट्टराईकोको अध्यक्षतामा आज बिहान नगर क्षेत्रभित्र रहेका पत्रकारहरुसँग सुझाव मागेको थियो । कार्यक्रममा अग्रज पत्रकार गञ्जबहादुर दाहाल, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, सक्रिय पत्रकार सञ्जालका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी केन्द्रीय सदस्य टिकाराम उप्रेती, संघीय पत्रकार मञ्च, नेपालका संयोजक दिलकुमार लाओती, अग्रज पत्रकारहरु कृष्ण कार्की, गोपाल झापाली, युवा पत्रकार चिरञ्जीवि घिमीरे, निशेष राई, भूमिराज पराजुली लगायतले सुझाव राख्दै नगरपालिकालाई सञ्चारमैत्री बनाउनु पर्ने सुझाव सहित लोक कल्याणकारी विज्ञानमा सहजबनाई स्थानीय संचारहरुलाई प्रथामिकतामा राख्न सुझाव दिएका थिए ।

त्यसैगरी बजेट तथा योजना तर्जुमा समितिले नगर भित्र रहेका राजनैतिक दलका अगुवा साथै संघ संस्थाका प्रमुखहरु संगपनि सोमबार नै छलफल गरेको छ । छलफलमा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रोशन गौतम, महिला नेतृ इक्सा सङबाङफे , दमक क्याम्पस प्रमुख डा. नेत्र बुढाथोकी लगायतले सुझाव पेश गरेका थिए ।

कार्यक्रमका अध्यक्ष समिति संयोजक तथा नगर उप–प्रमुख भट्टराई, नगर प्रमुख राम थापा, प्रमुख प्रशासकिय अधिकृत शशी राईले सबैका सुझाव समेटेर आगामी आर्थिक बर्षको बजेट ल्याउने प्रतिबद्धता जनाए ।