लुम्फुङवा वंशावली दोस्रो संस्करण लोकार्पण

पोक्लाबाङ न्यूज ,  धरान / लुम्फुङवाहरुले आफुलाई तेह्रथुम फेदाप थुम अन्तर्गतको सेङसेङगुम फेदापहाङको सन्तान सातरेहाङ पनि भन्ने गरिन्छ ।
घरधुरीको संख्या ३९७  रहेको लुम्फुङवाहरुको संस्था लुम्फुङवा कल्याणकारी संस्थाको आयोजनामा शनिवार जेठ १४ गते लुम्फुङवा वंशावली दोश्रो संस्करण धरानमा लोकार्पण भएको छ ।

 

धरान–१५ स्थित चुम्लुङ हिममा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङको संघीय अध्यक्ष एवम त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक प्रेम येक्तेनले लुम्फुङवा समाजले लुम्फुङवा हिम खरिद गरेको भन्दा महत्वपूर्ण लुम्फुङवा वंशावली प्रकाशन गरेर चेलीबेटी, फुपु, बोजु, आमा, जहान परिवारलाई एउटै घरमा समेटेर एेतिहासिक काम गरेको बताए ।

याक्थुङहरुको प्रथा जनित संस्था र पुर्ख्यौली भूमिबारे त्रिविबाट विद्यावारिधी गरेका डा. कमल तिगेला खेवाहाङले नेपालको वर्तमान कानुनी व्यवस्था अनुसार लुम्फुङवाहरुको पुर्ख्यौली भूमि, माछा मार्ने जगर बगर संस्थागत रुपमा प्राप्त गरी संरक्षण गर्ने पर्याप्त कानुनी व्यवस्था भएको र सो तर्फ लुम्फुङवाहरु अग्रसर हुनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा लुम्फुङवा वंशावली पहिलो संस्करणको मुख्य लेखक एवम संस्थाको पूर्व अध्यक्ष लालबहादुर लुम्फुङवा, अतिथीहरु शेरबहादुर हुक्पा चोङबाङ, नरेन्द्र फागो चोङबाङ, सेवा निवृत (सिंगापुर पुलिस) ए.एस.पी. लक्ष्मी लुम्फुङवा, आसाम देखि सहभागी गोपाल लुम्फुङवा,लुम्फुङवा वंशावली दोश्रो संस्करण प्रकाशन समितिको संयोजक राज्यप्रसाद लुम्फुङवा लगायतले शुभकामना राखेका थिए ।

कार्यक्रममा विज्ञान संकाय कक्षा १२ मा आफ्नो कलेज टप गरी हाल नोवेल मेडिकल कलेजमा अध्ययनरत श्रेया लुम्फुङवालाई नगद रु.२५ हजारको शैक्षिक सहयोग र वंशावली प्रकाशन समिति र प्रमुख सहयोगीहरुलाई चौविसे सङयक ढाका उद्योगबाट उत्पादित ढाकाको कोट उपहार प्रदान गरेको थियो ।

 

नर प्रसाद लुम्फुङवाद्वारा सम्पादित लुम्फुङवा वंशावली दोश्रो संस्करणमा छोरी चेली, फुपु तथा जहान, आमा, बोजु समेत समेटिएको छ । वंशावली वंशको इतिहास भएकोले वंशका सदस्यहरुले सामाजिक, राजनीतिक, शिक्षा, सांस्कृतिक, खेलकुद, कलाकारिता, पेशागत क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने नामावली  फुट नोटमा उल्लेख गरिएको छ ।

पहिलो संस्करणमा गएरी  (नाम मात्रै थाहा भएको, अरु केही थाहा नभएको) भनी उल्लेख हुनेहरु भेटिए जति दोश्रो संस्करणमा समेटिएको छ । आसाम, दार्जिलिङ्, बर्मा, सिक्किम, अमेरिका सम्म स्थायी बसोबास गर्ने लुम्फुङवाहरु यस संस्करणमा समेटिएको छ । वंशावली प्रकाशन गर्न ८ वर्ष लागेको थियो भने आर्थिक प्रायोजनको लागि सहयोग आह्वान भएपछि ७८ परिवारबाट ३४ लाख २६ हजार २२८ रुपैयाँ संकलन भएको थियो । कुल ६ लाख २८ हजार २९० रुपैयाँमा ३६२ पृष्ठको ७०० प्रति वंशावली पुस्तक प्रकाशन भएको आयोजकले वताए।

समारोहको सभाध्यक्षता संस्थाको अध्यक्ष पूर्णबहादुर लुम्फुङवा, स्वागत मन्तव्य उपाध्यक्ष होमबहादुर लुम्फुङवा र सञ्चालन सचिव  लक्ष्मीनारायण लुम्फुङवाले गरेका थिए ।

 

लुम्फुङवा वंशावली पहिलो संस्करण सन १९९९ मा प्रकाशन भएको पहिलो संस्करणको लेखक लुम्फुङवा कल्याणकारी संस्थाको संस्थापक सचिव एवम पूर्व अध्यक्ष लालबहादुर लुम्फुङवा थिए ।