- सेसेहाङ फियाक
झिलझिले जेठ, २०७९/ झापाको डुडामारीमा लिम्बू/याक्थुङ् जातिको समाधिस्थलको संरक्षणबारे अन्तरक्रिया कार्यक्रम झिलझिले बुद्धचौकस्थित युङी रेष्टुरेण्टमा बुधबार सम्पन्न भएको छ ।

किरात याक्थुङ् चुम्लुङ् भक्तपुर जिल्ला शाखाका सह–सचिव मानुदिङ् चन्द्रकला लिवाङ् लिम्बूको उपस्थितमिा भएको अन्तरक्रिया कार्यक्रममा समाधिस्थल सम्बन्धि स्थानीय सरोकारवालाहरुको व्यापक उपस्थिती रहेको थियो ।
उपस्थित सरोकारवालाहरुसँग झापाको डुडामारीमा स्थानीय सरकारले डुडामारी सिमसार निर्माण गरी फनपार्क बनाउने बहानामा अतिक्रमण गरिएको डुडामारी समाधिस्थलको विषयको वारेमा आवश्यक जानकारी लिँदै लिवाङ्ले सो क्षेत्रको विस्तृत जानकारी टिपोट गर्नुभएको छ । वहाँले त्यस क्षेत्रमा समाधिस्थल कहिलेदेखि निर्माण गर्न थालिएको, स्थानीय सरकारले अतिक्रमण गर्दा समाधिस्थलसँग सरोकार राख्ने समुदायसँग सोधखोज पनि नगरेको, जसरी हुन्छ पेलेर नै सो ठाउँमा समाधिस्थल बनाउन स्वीकृती नदिने र अहिलेको अवस्थामा कति समाधिस्थलहरु निर्माण गरिएको छ भन्ने कुरा जानकारी हासिल गर्नुभयो ।

समाधिस्थल अतिक्रमण गरेर निर्माण गर्न लागिएको फनपार्कसँगै समाधिस्थल निर्माण गर्न वनभित्र जमिन छुट्याइ माग्दा पनि स्थानीय सरकारले ध्यान नदिएको जानकारी लिनुभयो । सह–सचिव लिवाङ्ले डुडामारी समाधिस्थलको सन्दर्भमा राख्नुभएको जिज्ञासामूलक प्रश्नावलीहरुको उत्तर दिँदै समाधिस्थलको वारेमा जानकारी गराउने मूल मनसायले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा समाधिस्थल संरक्षण समिति अध्यक्ष तुत्तु प्रेम सेर्मा, सचिव सन्जित याक्थुङ् लिम्बू, राष्ट्रिय चुम्लुङ् सदस्य तुत्तु गुमानसिङ् सम्बाहाङ्फे, कियाचु लिम्बुवान प्रदेश सदस्य तुत्तु सुवेदार कविन्द्र सेर्मा, जिल्ला सदस्यद्वय तुत्तु शिवकुमार मेन्याङ्वो, मानुदिङ् जयकुमारी चेम्जोङ्, स्थानीय सञ्चार उद्योगी योगेन लाओती , युवा समाजसेवी डिली मेन्याङ्वो, कियाचु शिवसताक्षी नगर वडा न.ं १ का तुत्तु दुर्गा चेम्जोङ्, साविक धरमपूर गा.वि.स. का कियाचु पूर्व अध्यक्ष तुत्तु दिल सेरेङ्, शिवताक्षी नगरका नगर सदस्य प्रताप निङ्लेकु लगायतका महानुभावहरुले समाधिस्थललाई संरक्षक गर्न सरकार र जनता दुवैको कर्तव्य हो भन्ने कुरा राख्दै अतिक्रमण भएपश्चात भइआएका समस्याहरुको वारेमा आ–आफ्नो कुरा राख्नुभएको थियो ।
कियाचु झापा शाखाको आयोजनमा सम्पन्न कार्यक्रम किरात याक्थुङ् चुम्लुङ् जिल्ला अध्यक्ष तुत्तु सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न गरिएको थियो भने कार्यक्रम सञ्चालन र स्वागत कियाचु शिवसताक्षी नगर शाखा सचिव तथा आदिम आदिवासी समाधिस्थल संरक्षण समितिका अध्यक्ष तुत्तु प्रेम सेर्माले उपस्थित सबैलाई स्वागत गर्नुहुँदै कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

