देशभर पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ९२० को नमूना परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९९८ ले पिसिआर र ९२२ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको जनाएको छ ।
हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट ११ जना मुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार दुई पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २० हजार ८९० ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १३३ जना सङ्क्रमित रहेका छन् ।
हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, पर्सा, सप्तरी, रौतहट, बारा, धनुषा, दोलखा, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुमपूर्व, कपिलवस्तु, प्युठान, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २८ र ललितपुर आठ र भक्तपुरमा एक सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमण दर १७ दशमलव दुई प्रतिशत छ ।
