याक्थुङ प्रज्ञा–प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न, कूलपतिमा पुनः हाङवासाङ याक्थुङबा निर्वाचित

  • मुसाहाङ अम्याङ्सा

पान्थर ११ बैशाक २०७९/  याक्थुङ प्रज्ञा–प्रतिष्ठानको दोस्रो अधिवेशन शनिबार फेदेनमा सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र कुमार चबेगु (हाङवासाङ याक्थुङबा) लाई पुनः कूलपतिमा निर्वाचित गरेको छ ।

याक्थुङ प्रज्ञा–प्रतिष्ठानको उपकुलपतिमा लछामी सेर्मा पापो, प्राज्ञ सदस्यहरुमा तिलबिक्रम नेम्बाङ (भित्रागी काइँला), भवानी तावा, डिक लाओती, ललितचन्द्र फियाक, लाल अञ्जान सङबाङफे, खड्गनारायण आङदेम्बे, शेर बहादुर योङहाङ, सागर केरुङ, रबिन कुरुम्बाङ, सन्देश सुब्बा (इङ्वा), निशा लोवा निशुम, इन्दु फोम्बो र कमला आङ्देम्बे निर्वाचित भएका छन् ।
अधिवेशन सम्पन्न भएपछि नयाँ कार्य समितिको पहिलो बैठक शनिबार नै सम्पन्न भयो । बैठकले याक्थुङ प्रज्ञा–प्रतिष्ठानको विधान अनुसार निर्वाचित प्राज्ञ सदस्यमध्येबाट प्राज्ञ सचिवमा डिक लाओती, प्राज्ञ सह–सचिवमा सन्देश सुब्बा (इङ्वा) र प्राज्ञ कोषाध्यक्षमा निशा लोवा निसुमलाई मनोनित गरेको कूलपति चबेगुले वताए । त्यस्तै विषय विशेषज्ञ संयोजक आङ्बुहाङ अबोध अविरल, विषय विशेषज्ञ सदस्य साम्जिरी सेर्मा र श्याम तुफान निर्वाचित भएका छन् । कार्य समितिको आगामी बैठकले थप विषय विशेषज्ञहरुलाई मनोनित गर्ने बताइएको छ ।

याक्थुङ प्रज्ञा–प्रतिष्ठानको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति, नेपाली कविता जगतका शिखर व्यक्तित्व, याक्थुङ (लिम्बू) जातिको साहित्य, संस्कृति र मुन्धुमका खोजकर्ता बैरागी काइँला सहित चार साधकलाई सम्मान गरेको छ । काईलालाई १० तोला चाँदीबाट निर्मित मेडल सहित यम्बुगेन सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

त्यस्तै याक्थुङ प्रज्ञा–प्रतिष्ठानका कूलपति राजेन्द्र कुमार चबेगु र देबेन्द्र चबेगुले स्थापना गरेको ताम्रपत्र सहित नगद १५ हजार रुपैंयाँ राशीको बमजय स्मृति साहित्य पुरस्कारबाट बीर नेम्बाङ पुरस्कृत भएका छन् । त्यसै गरी सेसेमी से–नाल्बो र इक्सा सङबाङफेले स्थापना गरेको नाल्बो पत्रकारिता पुरस्कारबाट अमर तुम्याहाङ पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी ताम्रपत्र सहित नगद २० हजार रुपैंयाँ रहेको छ । त्यस्तै मलिसा याक्थुङबाद्वारा स्थापित सुवाश फेजोङ/सुवमाया मेयोङबा नवोदीत पुरस्कारबाट राज कुमार आङदेम्बे पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी सम्मान–पत्र सहित नगद पाँच हजार रुपैंयाँ रहेको छ ।

सम्मानित तथा पुरस्कृत सबै साधकलाई कार्यक्रमका प्रमुख अतिथि, पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नेम्बाङले भाषा, साहित्यको विकासका लागि निजी स्तरबाट भएका कार्य सह्रानीय भएको बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिचन्द्र लाओती, याक्थुङ लेखक संघका केन्दद्रीय महासचिव मधुराज केरुङ लगायतले पनि विचार व्यक्त गरेका थिए ।