जिल्ला निर्वाचन कार्यालय झापामा ३६ दल दर्ता

झापा, ८ चैत । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ३६ वटा दल दर्ता भएका छन् ।

कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार छ वटा राष्ट्रिय दल र ३० अन्य गरी ३६ वटा दल कार्यालयमा आइतबार सम्ममा दर्ता भएका हुन् । विसं २०७४ को स्थानीय निर्वाचनमा ३२ वटा दल दर्ता भएर निर्वाचनमा सहभागी भएका थिए । यस पटक थप चार नयाँ दल थपिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

उनले मङ्गोल नेशनल अर्गनाइजेसन, मौलिक जरोकिलो पार्टी, जनमत पार्टी लगायत थपिएको बताए । कार्यालयले जिल्लामा चुनावमा भाग लिन इच्छुक दललाई दर्ता प्रक्रियाका लागि चैत २ देखि चैत ६ गतेसम्म समय दिएको थियो । निर्वाचन गराउन जिल्लामा छ हजार ६०० कर्मचारी परिचालन गरिने जनाउँदै धमाधम सरकारी कार्यालयसँग कर्मचारीको विवरण लिने काम भइरहेको उनले बताए ।