- डिल्लीश्वर मुसाहाङ लिम्बू (मुसाहाङ अम्याङ्सा)
दमक, २४ फागुन २०७८ / झापाको दमकमा जारी प्रथप दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को फाइनल खेल त्रिभूवन आर्मीलाई वेष्ट अफ फाइफमा पराजित गर्दै काठमाडौंको ह्वाङवाङजी न्यू डायमण्ड स्पोर्टस क्लवले जित आफ्नो पक्षमा पारेको हो ।
यस्तै तेस्रो स्थानका लागि विभागीय टोली नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई हराएको छ । एक ३ सेटको अन्तरमा प्रहरीले विजय हासिल गरेको हो ।
खेलमा प्रथम हुनेले नगद २ लाख, दोस्रोले नगद १ लाख, तेस्रो स्थानले ५० हजार र सान्तवना हुनेले २५ हजार नगद पाएका छन् । विजयी टीमहरुलाई प्रदेश नम्बर एकका सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री कार्यक्रमका प्रमुख अतिथि हिक्मत कुमार कार्की, नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी त्रिभूवन आर्मीकी संगम महत्तो घोषित हुनु भएको छ । यस्तै विजयी न्यू डायमण्ड स्पोर्टस क्लवबाट उत्कृष्ट लिफ्टर, सर्भर, लिविरो र व्लकरमा क्रमशः प्रगती नाथ, प्रतिमा माली, सलिना श्रेष्ठ र बाल्मिका आचार्य घोषित भएका छन् । यस्तै उत्कृष्ट स्पाइकरमा नेपाल प्रहरीकी कामना विष्ट र कोचमा न्यू डायमण्ड स्पोर्टस क्लवका कुमार राई घोषित भई नगद ५ र १० हजार सहित ट्रफी प्राप्त गरेका छन् ।
राष्ट्रिय स्तरको भलिवल सम्पन्न गर्न नगरपालिकाले ८ लाख दिएको छ । यस्तै केही दाताहरुले ५ हजार देखि १ लाखसम्म नगद सहयोग गरेका छन् ।
दमक भलिवल विकास समितिका सल्लाहकार संयोजक जयकुमार श्रेष्ठबाट २ लाख, गजेन्द्र देवान १ लाख, विवेक श्रेष्ठ र विशाल शिवाकोटीबाट १ लाख लगायत धेरै सहयोगी दाताहरुले ५ हजार देखि २५ हजारसम्म नगद सहयोग गरेका छन् । खेल सम्पन्न हुन करिव १६ लाख जति खर्च भएको दमक भलिवल विकास समितिका सचिव राजु श्रेष्ठले बताउनु भयो ।
११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर दमक नगरपालिका खेलकुद समितिको आयोजनामा महिला सशक्तीकरणका लागि स्थानीय तहले गरेको राष्ट्रिय महिला भलिवल प्रतियोगिता पहिलो पटक भएको झापा जिल्ला भलिवल संघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनु भयो ।