- डिल्लीश्वर मुसाहाङ लिम्बू (मुसाहाङ अम्याङ्सा)
बिर्तामोड । नेपाल आईस पाँचौं संस्करणको झापा गोल्ड कपमा थ्री स्टार क्लबलाई हराउँदै संकटा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा थ्री स्टारलाई २–० गोल अन्तरले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
संकटाकोे जितमा विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । संकटा पहिलो पटक झापा गोल्डकप खेल्न आएको हो । थ्री स्टार भने पहिलो पटक झापा गोल्डकपको सेमिफाइनल प्रवेश गर्नबाट बञ्चित भएको छ । संकटालाई फोफोनाको क्रसमा थ्री स्टारको डिफेन्डर र गोलरक्षक बिचको तालमेलको नमिलेको फाइदा उठाउँदै यानिकले खेलको २५ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
त्यसपछि खेलको ६३ औं मिनेटमा फोडे फोफोनाले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलमा दुवै टोलीले केही राम्रा अवसरहरु पाए पनि गोलमा परिणत गर्न भने सकेनन् ।
खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गरे ।
झापा गोल्ड कपमा भोली (बुधबार) तेश्रो क्वार्टर फाइनल बिभागिय टीम त्रिभुवन आर्मी फुटबल क्लब र एम एफसी दार्जिलिङ बीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।