दमक, २३ फागुन २०७८/ झापाको दमकमा जारी प्रथप दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को आज भएको खेलमा विभागीय टोली त्रिभूवन आर्मी र न्यू डायमण्ड क्लव काठमाडौं फाइनलमा प्रवेश गरेका छन् ।
त्रिभूवन आर्मीले नेपाल प्रहरीलाई वेष्ट अफ फाइभमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । यस्तै सशस्त्र प्रहरी बललाई सोझो ३ सेटमा हराउँदै न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको हो ।
११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित दमक नगरपालिका खेलकुद समितिको आयोजनामा महिला सशक्तीकरणका लागि गरिएको खेल प्रतियोगिताको भोलि तेस्रो स्थान छनौटका लागि विभागीय टोली नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच विहान ७ बजे खेल हुने छ । यस्तै फाइनल खेलका लागि १० बजे आर्मी र न्यू डायमण्डबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जानकारी दिएको छ ।
आजको खेलमा विजयी टीमका न्यूडामण्ड स्पोर्ट एकाडेमीको जर्सी नम्बर १४ की प्रगति नाथ र विभागीय टीम त्रिभूवन आर्मीको जर्सी नम्बर ११ की संगम महत्तोले प्लेयर अफ द म्याचको पुरस्कार प्राप्त गरेका छन् ।
खेलमा प्रथम हुनेले २ लाख र द्धितीयले १ लाख नगद पाउने छन् । यस्तै तेस्रो हुनेले ५० हजार र सान्तवना हुने टीमले २५ हजार नगद प्राप्त गर्ने छन् ।
यस्तै आज भएको खेल अवधिको समयमा यस अघि वंगालादेशमा भएको अन्तराष्ट्रिय स्तरको खेलमा विजयी बनेर आएका १२ जना खेलाडी र ३ जना पूर्व खेलाडी सहितलाई सम्मान पत्र र नगद ५ हजारले सम्मान गरिएको दमक भलिवल खेल विकास समितिका उपाध्यक्ष प्रेम बाँस्तोलाले बताउनु भयो ।
खेल विकासमा महिलाले विश्व सामु उच्च नाम राख्न दिएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको नेपाल भलिवल संघकी केन्द्रीय सदस्य सदस्य ज्योति के.सी.ले बताउनु भयो ।
आजको कार्यक्रमको प्रमुख अथिति राष्ट्रिय सभा सदस्य देवेन्द्र दहाल पूर्वी नेपालमा पहिलो चोटी दमकमा भएको राष्ट्रिय महिला भलिवल खेलले खेल जगतको विकास र आकर्षण थपेको बताउनु भयो ।
महिलाको खेल क्षेत्रमा विकास गर्न दमकले मात्र ८ लाख नगद उपलव्ध गराएको छ भने खेल संचालन गर्न १६ लाख भन्दा धेरै खर्च हुने भएकाले सहयोग संकलनका लागि दमक भलिवल विकास समितिका सल्लाहकार संयोजक जयकुमार श्रेष्ठको संयोजनमा सहयोग जुट्दै गएको समितिका सचिव पूर्व खेलाडी राजु श्रेष्ठले बताउनु भयो ।
सयौं दर्शक माझ भएको राष्ट्रिय स्तरको भलिवल आँखै अगाडी निःशुल्क हेर्न पाउँदा दमक लगायत आसपास पालिका क्षेत्रका खेलप्रेमीहरुले खुशी व्यक्त गरेका छन् ।