कियाचु भद्रपुर नगर शाखाको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षतामा लिङखिम

  •  इछिङ्सा मुसाहाङ
भद्रपुर , ११ फागुन २०७८ /  किरात याक्थुङ चुम्लुङ भद्रपुर नगर शाखाको तेस्रो नगर अधिवेशन आज सम्पन्न भएको छ ।

बुधबार झापा भद्रपुर नगरपालिका वडा नं. ८ स्थित नेपाल सामुदायिक भवनको सभाहलमा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखा अध्यक्ष सेसेहाङ फियाकको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले ललित लिङखिमको अध्यक्षतामा १५ सदस्यीय नगर शाखा कार्य समिति पुनःगठन गरेको छ । जसमा उपाध्यक्षमा मुना कन्दङ्वा, सचिवमा हस्तकला वनेम, सह–सचिवमा प्रेम बहादुर खजुम र कोषाध्यक्षमा पुण्यप्रसाद लिम्बू निर्वाचित भएका छन् भने सदस्यहरूमा क्रमशः संदीप खेवाहाङ, काजीमान लिङखिम्, देउमाया चोङबाङ, मिना लिम्बू, डम्बर लिबाङ, धनेन्द्र लिङदेन, मनकुमारी इजम, लक्ष्मी प्रसाद तावा र बिनुका लिम्बू चयन भएका छन् ।

कार्यक्रममा भद्रपुर नगरपालिका वडा न. ८ का अध्यक्ष मनोज सुब्बा, जिल्ला चुम्लुङ सदस्य गोपाल सुब्बा, जिल्ला शाखा सल्लाहकार कुबेर कन्दङ्वा, संचारकर्मी धर्मराज राई, स्थानीय प्रतिनिधि लक्ष्मी प्रसाद तावा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनमा भद्रपुर नगर इकाई समितिको प्रतिवेदन सचिव हस्तकला वनेमले प्रस्तुत गर्नुभएको थियो भने ३५ लाख बराबरको आय–व्यय कोषाध्यक्ष हेमा कन्दङवाले प्रस्तुत गर्नु भएको छ । तेसैगरी पृथ्वी नगर शाखाको तर्फबाट सचिव ललित लिङखिमले संस्थागत र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भद्रपुर नगर इकाई शाखा र पृथ्वी नगर शाखाको तर्फबाट प्रस्तुत प्रतिवेदन हाउसबाट अनुमोदन भएपछि दुवै तर्फका अध्यक्ष आङदेम्बे र सचिव लिङखिमले आ–आफ्नो मन्तव्य राख्दै समिति विघटन गरे ।

भद्रपुर नगर इकाई समिति सदस्य र पृथ्वी नगर गाउँ इकाई शाखा र येहाङ किरात कोलोनीबीच व्यापक छलफल गरी समायोजनको अधिवेशन गर्ने निर्णय भएको थियो । सोहि अनुरूप फागुन ११ गते अधिवेशन सम्पन्न गरिएको अधिवेशन तयारी समिति संयोजक लाओतीले बताए ।

भद्रपुर नगर शाखा समिति अध्यक्ष सर्मिला आङदेम्बेको सभाध्यक्षतामा भद्रपुर नगर शाखा अधिवेशन तयारी समिति संयोजक तथा राष्ट्रिय चुम्लुङ सदस्य महेन्द्र लाओतीले स्वागत मन्तव्य राखेका थिए भने सचिव हस्तकला वनेमले सञ्चालन गरेकी थिइन ।