पत्रकारलाई धम्की दिने बी एण्ड सी अस्पताल कार्यकारी निर्देशक प्रसाईंलाई कार्वाहीको माग

झापा / पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिने बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको अभिव्यक्तिको निन्दा गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाले उनलाई कार्वाहीको माग गरेको छ ।

पत्रकार महासंघ झापा शाखाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालक प्रसाईले समग्र पत्रकारिताको बदनामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासंघ झापा सचिव डिकेश लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा गत माघ १९ गते प्रसाईले अस्पतालबारे एक सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्न पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिताको बदनामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको उल्लेख छ ।

समाचारप्रति चित्त नबुझे त्यस विषयमा सम्बन्धित सञ्चार माध्यममा खण्डन प्रकाशन/प्रशारण गर्ने, सम्बन्धित सञ्चारमाध्यमबाट उचित सुनुवाई नभए न्यायका लागि प्रेस काउन्सिल र अदालत जान पाउने कानूनी हक हुँदा–हुँदै समग्र पत्रकारिता क्षेत्रको बदनाम हुने गरी प्रसाईले दिएको भ्रमपूर्ण अभिव्यक्ति र पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्क्याएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रसाईको उक्त कार्यप्रति खेद जनाउँदै दोषी उपर कारवाहीका लागि महासंघ झापा शाखाले माग गरेको छ ।