लिपिको नाम आलेखन समायोजन सन्दर्भमा बहस

  • सेसेहाङ फियाक

 

याक्थुङ लिम्बू जातिले प्रयोग गर्दै आएको लिपि “किरात सिरिजङगा लिपि“ को सन्दर्भलाई लिएर अत्यन्तै महत्वपूर्ण बहस भइरहेको छ ।
१. सतहमा आएका वहसका विषयहरू –

१. लिपिको नामको वारेमा
२. लिपि आलेखनको वारेमा
३. लिपि समायोजन गर्दै साझा लिपि निर्माणको सन्दर्भमा कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनको वारेमा ।

१. लिपिको नामको वारेमा –
जब याक्थुङ् लिम्बू वा अन्य जातिले प्रयोग गर्दै आएको लिपिलाई सिक्किममा चोङ लिपि लिम्बू लिपि हुँदै अन्तःत याक्थुङ लिम्बू जातिले मात्र प्रयोग गरेको कारणले सरकारी दर्जमा लिम्बू लिपि भनी दर्ता गराए । तेसपछि सिक्किममा याक्थुङ सक–सक् वा लिम्बू लिपि नामले परिचित भयो । अहिले पनि लिम्बू लिपिकै नामले परिचित छ । त्यहि लिपिको माध्यमबाट याक्थुङ लिम्बू भाषा एम. ए. सम्म पढाई भईरहेको छ भने पि.एच.डि.को लागि पनि तयारी भइरहेको थाहा हुन आएको छ ।

त्यहीँ लिपि नेपालमा इमानसिङ चेम्जोङ र महागुरु फाल्गुनन्द लिङदेनको पालादेखि साम्जिक मुन्धुम लेख्नेहरूले लेखे, चलाए, पढे । उनीहरूले त्यहि लिपिलाई माङसक्–सक्, याक्थुङ् सक्–सक् र किरात सक्–सक् र किरात लिपि भनेर नाम दिए । सिरिजङगा सक् सक् पनि भने । उनीहरू अर्थात फाल्गुनन्द अनुयायीहरूले जुनै नामको भए पनि आफ्नो लिपि र भाषा छ भनेर गर्वका साथ नेपालमा वि.स.ं १९८८ सालदेखि व्यापक रूपमा प्रयोग गर्दै आएको देखिन्छ । यसको लागि फाल्गुनन्द अनुयायी सत्यहाङमा माङसेसावाहरूद्वारा हस्तलिखित साम्जिक मुन्धुमका ठेलीहरू हेर्दा हुन्छ । उति नै समयपछि पान्थर हाङ्यक निवासी स्व. रन्धोज नेम्बाङले पनि काठमा कोपेर लिपि प्रयोग र प्रचार गरे ।
नेपालमा अफसेट र कम्प्यूटर नभएको अवस्थामा किरात धर्म तथा साहित्य उत्थान संघले किरात प्रिण्टिङ् प्रेसको स्थापना गरी पहिलो चोटी किरात सिरिजङगा लिपिको लेटर टाइप अर्थात अक्षरको गोटी झापा दमकमा ल्याएर चलाएको हो । त्यसपछि मात्र कम्प्युटराइज भएको हो यो लिपि । मलाई सम्झना भए अनुसार किरात याक्थुङ् चुम्लुङको पहलमा नै २०५० साल वरिपरि देखि मात्र कम्प्युटरमा टाइप गर्न सक्ने गरी निर्माण गरिएको हो ।
सिक्किममा जे जसरी नामाकरण गरी प्रयोग गरे पनि नेपालमा सर्वसम्मतिमा यो लिपिको नाम किरात सिरिजङगा नाम दिएर जानु उपयुक्त ठहरिएकै कारण किरात याक्थुङ चुम्लुङको महाधिवेशनले पारित गरे पछि नै यो लिपिको नाम “किरात सिरिजङगा “ भनेर लेखिन थालिएको कुरा दस्दावेजहरूले प्रष्ट पार्दछ । अहिले आएर लिपिको नाम के रहने वा राखेर जाने भन्ने विषयमा चुम्लुङको निर्णय नमान्ने अर्थात चुम्लुङको विरूद्वमा उत्रेका युमा साम्यो महासभा (२०७६), याक्थुङ चुम्लुङ (२०७८) र सिरिजङगा बचाउ समूह लगायतका झुण्डले लिपिको नाममा ठूलो विवादका साथ सिरिजङगा मात्र रहनु पर्ने तर्क उठाईरहेका छन् । अर्कोतिर फाल्गुनन्द अनुयायीहरूबाट पनि लिपिको नाम किरात मात्र हुनुपर्छ भन्ने तर्क अघि सार्दै आएका छन् ।
यसरी लिपिको नामाङकरण सम्बन्धमा संस्थागत निर्णय किरात याक्थुङ चुम्लुङले बाहेक अन्य संघ–संस्था र समूहले अहिलेसम्म गरेको पाइएको छैन । आफू खुशी जे पायो तेहि भन्दै र लेख्दै आएका छन् । जसले गर्दा अहिले सामाजिक सञ्जाल र विभिन्न लेख–लेखोटहरूमा विवाद आई रहेको देखिन्छ ।

२. लिपि आलेखनको वारेमा
जानी नजानी नेपालका भाषा अनुयायीहरूले सिक्किममा प्रयोग हुँदै आई रहेको लिपिको माध्यमबाट याक्थुङ लिम्बू भाषा लेख्दै आएको अवस्थामा नेपालमा अग्रज साहित्यकार तुत्तु वैरागी काईला नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति बन्नु भयो । त्यस समयमा किरात याक्थुङ् चुम्लुङ र प्रज्ञा प्रतिष्ठानको सहकार्यमा याक्थुङ लिम्बू भाषा सम्बन्धि मानक लेखनका गोष्ठीहरू सम्पन्न गरिए । त्यस समयमा विशेष गरेर भाषा शास्त्रीहरूले नेपालमा प्रयोग गरिदै आएको याक्थुङ लिम्बू भाषालाई आलेखन गर्दा वा लेख्दा वैज्ञानिकरण कसरी गर्दा हुन्छ ? भन्ने वहसहरू चलाए । त्यसरी सम्पन्न गरिएका गोष्ठीहरूले निर्धारण गरेको भनी लिपिलाई केहि वर्णहरूमा हेरफेर सहित लेखनमा पनि भाषा विज्ञान सम्मत हो पनि परिमार्जन गरियो । त्यसको परिमार्जित रूप नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित लिम्बू–नेपाली– अंग्रेजी बृहत शब्दकोषमा प्रयोग गरिएको छ । त्यसपछि परिमार्जित रूपलाई पछ्याउने र प्रयोग गरिदै आएको लेखनलाई पछ्याउनेबीच लेखन पद्वतिको सन्दर्भमा विवाद सतहमा आयो ।
यहि विवादलाई समाधान गर्ने सन्दर्भमा पूर्व कुलपति काईला ज्यूले किरात याक्थुङ चुम्लुङद्वारा प्रकाशित ताःन्छोप्पा पत्रिकामा प्रस्तावित र प्रचलित लेखन भन्ने नाम दिएर लामो आलेख लेख्नु भयो । वास्तवमा त्यहि समयदेखि याक्थुङ लिम्बू भाषा लेखनमा प्रचलित र प्रस्तावितको कुरा उठेको हो ।
अबको समयमा प्रचलित र प्रस्तावित जुनै लेखन गरे पनि हुन्छ भन्ने मनसायका बृहत शब्दकोषमा पनि दुवै लेखनलाई समेटेर राखिएका छन् ।
त्यहि कुरालाई मूलस्रोत मानेर चुम्लुङले प्रकाशन गर्दै आएको ताःन्छोप्पा पत्रिकाले पनि परिमार्जित स्वर वर्ण र व्यञ्जन वर्ण प्रचारमा ल्याइरहेको छ । जुन कुरा प्रचलित लेखन समूहले आजतक मानिरहेका छैनन् । प्रयोग पनि गर्ने गरेका छैनन् ।
वास्तवमा लिपि आलेखनमा परिमार्जित रूप चलाउँदा नेपालमा भाषा शास्त्रिय दृष्टिकोणले सर्वमान्य मानिएता पनि यस कुरामा सिक्किमेली लेखन प्रचलनलाई पनि अवैज्ञानिक भन्न सकिने अवस्था देखिन्न । त्यसै भएर होला नेपालका याक्थुङ भाषा अभियन्ता र अनुयायीहरू अहिले पनि प्रचलित लेखन पद्वतिलाई नै पछ्याई रहेका छन् । त्यहि प्रयोगको आधारमा साहित्यिक कृतिहरू सिर्जना गर्दै आइरहेका छन् भने अनौपचारिक शिक्षाका पाठ्यक्रम र पाठ्यपुस्तकहरू प्रचलित लेखनमा बढि जसो निर्माण गरिएका छन् ।
किरात धर्म अनुयायीहरूले प्रयोग गर्ने साम्जिक मुन्धुम् पनि प्रचलित लेखनमै लेखन र सम्पादन हुँदै आइरहेको छ । नेपालमा अनौपचारिक रूपमा सञ्चालन गरिएको लिम्बू भाषा उच्च माध्यमिक अध्ययनको लागि निर्माण गरिएको पाठ्यक्रम र पाठ्यपुस्तक पनि प्रचलित लेखन मै छ ।
प्रचलित र प्रस्तावित लेखनको रूपमा विशेष गरेर केम्भ्रेङ र सईको प्रयोगलाई मूल रूपमा उठाइएता पनि वास्तविक कुरा लिपिको स्वरवर्ण र व्यञ्जन वर्ण नै परिमार्जन गरिएको आधारमा भिन्नता हुन आएको हो ।
प्रचलितमा २५ वटा व्यञ्जन वर्ण र ९ वटा स्वर वर्णको आधारमा लेखिन्छ भने प्रस्तावित लेखन २५ वटा बर्णमा मुक्भ्रेङ (प्रचलित लेखनमा कुसेक् सक्को रूपमा प्रयोग हुँदै आएको मुक्भ्रेङ)लाई राखिएको छ र १४, १५ वटा स्वर वर्ण बनाइएको छ । यसैको आधारमा प्रस्तावित लेखन लेखिन्छ, भन्नेहरू यो समस्या केहि होइन भन्छन् । भाषा शास्त्रीहरू यो नै वैज्ञानिक लेखन मान्दछन् तर यसरी राखिएका (प्राज्ञ अमर तुम्याहाङद्वारा सम्पादित तथा किरात याक्थुङ चुम्लुङद्वारा प्रकाशित ताःन्छोप्पमा राखिएको वर्ण) वर्णहरू पठन–पाठन गर्न कठिनाई छ । त्यसकारण नेपालमा लेखिदै आएको आलेखन एकरूपता ल्याउने विषयमा आन्तरिक बहस र छलफल गरि निष्कर्षमा पुग्नु पनि आजको आवश्यकता देखिन्छ

 

३. लिपि समायोजन गर्दै साझा लिपि निर्माणको सन्दर्भमा विज्ञ टिमको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनको बारेमा
किरात जातिका रूपमा आफूलाई चिनाएका जातिहरूको साझा लिपिको रूपमा किरात सिरिजङगा लिपिलाई आवश्यक ध्वनि चिन्हरू निर्माण गरि प्रयोग गर्ने गरि प्रस्ताव प्रतिवेदन निर्माण गर्न लिपि समायोजन विज्ञ टिम बन्यो । डा. तारामणी राईको संयोजकत्वमा बनेको कार्यदलले माघ १ गते लिपि समायोजनको सन्दर्भका ९४ पेजको लामो प्रस्तावित प्रतिवेदन सार्वजनिक गर्यो । त्यसपछि किरातजन्य संस्था असहमत पक्षले प्रतिवेदन जलाउने देख लिएर विज्ञ टिमका विद्वान मित्रहरूलाई सामाजिक सञ्जालभरि अशोभनिय हर्कत गर्दै गालि बेईज्जति गर्दै आएका छन् । पछिल्लो समयमा धार्मिक संस्था, जातिय संस्था र चुम्लुङकै प्रवास समितिमार्फत प्रतिवेदन उपर असहमतिका विज्ञप्तिहरू जारी गरिए । सार्वजनिक गरिएका प्रतिवेदन यति बेला तहगत निकायमा छलफल, वहस गरी आवश्यक सल्लाह सुझाव दिनको लागि किरात याक्थुङ चुम्लुङले आफ्ना तहका सबै मातहत तहलाई सर्कुलर पठाएको अवस्था छ । यसै सन्दर्भमा मातहत समितिमा अहिले सो प्रतिवेदन उपर छलफल भइरहेको अवस्था छ ।
वास्तवमा यसरी सार्वजनिक गरिएको प्रतिवेदन प्रस्तावको रूपमा ल्याएको पनि चुम्लुङले स्पष्ट पारिसकेको छ तर यहि प्रतिवेदनलाई आधार मानेर चुम्लुङ विघटनदेखि लिएर चुम्लुङ पदाधिकारी, विद्वानहरूलाई हरेक प्रकारको आरोप प्रत्यारोप लाउने काम चुम्लुङको कार्यप्रति असहमति राख्ने संस्था र समूहले गर्दै आएका छन् । यो राम्रो संकेत होइन । प्रस्तावि प्रतिवेदनको निचोडमा विज्ञ टोलिले किरात सिरिजङगा लिपिमा केहि आवश्यक ध्वनि चिन्हरू थपेर किरातजन्य सबै जातिले प्रयोग गर्न मिल्ने गरि वर्ण बनाइदा ४८ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण बनेको उल्लेख गरेका छन् । वर्णहरूमा यसरी थपिनु हुँदैन भन्ने असहमत समूहले विरोध गर्दै आएका छन् ।
कुनैपनि प्रस्ताव उपर आफ्ना सहमति र असहमति रहन जाने कुरालाई आपसी छलफल, वहस र तर्कले चिर्दै जानु पर्नेमा अतिरञ्जित नै बनाइएको छ । यसरी विवादलाई चर्काउँदै लाने हो भने कुनै पनि कुराको सफलता हात पार्न सकिने स्थिति आउँछ जस्तो लाग्दैन ।

२. समाधानको उपाय खोजौं
उल्लेखित ३ वटा विषयमा विवाद चर्किएर आएको विषयलाई भाषा र लिपि विकासको निमित्त लागि पर्ने संघ–संस्था र समूहले आपसी छलफल, वार्ता र सहजीकरणको आधारमा टेवलमा बसेर मिलाउनु पर्ने अवस्था आएको छ ।
यहाँ आफूले जानेको, आफूले देखेको र आफूले गरेको काम मात्रै सर्व स्वीकार्य हुनुपर्छ भन्ने भावनालाई अलिक पर सारेर विन विनको सिद्धान्त अनुरूप सम्बन्धित सबैलाई अपनत्व हुने गरि समस्या समाधानको खोजी गर्नु बुद्धिमतापूर्ण देखिन्छ ।
यस विषयमा विशेष गरेर संस्थागत रूपमा आवद्ध भएका महानुभावहरूको भूमिका अतिरिक्त लिम्बू समाजमा स्थापित विद्वान मित्रहरूले मिलाउने कोशिष गर्नुपर्छ । समस्या समाधानको पहल कदमी गरिनुपर्छ । जुन जुन विषयमा विज्ञता हासिल गर्नु भएका विद्वान भएपनि तुम्याहाङको रोलमा समाजमा उठेका विवादित विषयलाई मिलान गरेर लैजाने प्रयासमा जुट्नुपर्छ । यसो नगरी आ–आफ्नो विज्ञताको डम्फु मात्र बजाएर (जस्तै विश्वमा रहेका डा’साबहरूले अहिले धर्म, भाषा, साहित्य र राजनीतिमा डम्फु बजाएर बसेकाहरू) बस्नु भएन । कम्तिमा बलिरहेको आगोमा पानी छम्काउने नगरे पनि घ्यू थप्ने काम नगरी आगो निभाउने काम गर्नुपर्यो तर अहिले तेस्तो देखिएन यहाँ । त्यस कारण आग्रह छ कि लिम्बू समाजमा उठेका समस्याहरूको निदान गर्न अब व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर विज्ञ–विद्वानहरू बोल्नुपर्यो होइन भने भावी सन्ततीहरूले सराप्ने छन् है ।
त्यसै गरी संघ–संस्थाहरू पनि सामाजिक सञ्जाल र सार्वजनिक मैदानमा लडाईको विकुल फुक्दै युद्वको घोषणा नगरौं । बरू महिनौं दिन, बर्षौं दिन छलफल गरौं, बहस गरौं, तर्क गरागर गरौं, अन्तिममा निष्कर्ष निकालेर एउटा प्रगतिको वातावरण निर्माण गरौं ।

३. निचोडमा लुङ्मेन्दिङ अनुरोध
लिपि समायोजन विज्ञटोलिद्वारा प्रस्तावको रूपमा प्रस्तुत प्रतिवेदन उपर युमा साम्यो महासभामा पनि छलफल गरौं, याक्थुङ चुम्लुङमा पनि छलफल गरौं, सिरिजङगा बचाउ समूहमा पनि छलफल गरौं, लिम्बू भाषा अनुयायी, अभियन्ताहरूमा छलफल गरौं, अनि एउटा महत्वपूर्ण निष्कर्ष निकालौं ।
यसरी गरिने अध्ययन–अनुसन्धान र छलफल, वहस, तर्कहरू जाँड पानी खाएर, पिएर अंग्रेजी ठोके जस्तो नहोस् । एकेडेमिक नभए पनि कम्तिमा पनि एक–अर्कामा रिस नउठ्ने तर कुरा बुझिने होस् । सबैले आ–आफ्नो विचार राखौं, बुझेका कुरा वहसमा ल्याऔं तर सुनेको र अरूले भनेको कुरा मात्र सबै ठिक हो भनेर खुकुरी बोकेर नहिडौं । आफूले बोकेर हिंडेको खुकुरीको धारले आफैलाई पनि काट्छ, आफ्नै शीर छेदन गर्छ भन्ने कुरा पनि सोचौं ।
जे जसो भए पनि उल्लेखित ३ वटा विषयमा उठिरहेको विवादित विषयलाई यसरी नै समाधान गरौं । धन्यवाद ।