मछिन्द्रलाई पराजित गर्दै एपीएफ फाइनलमा

पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

पोखरा रंगशालामा एपीएफलाई जित दिलाउन सनिश श्रेष्ठ, प्रदिप लामा र नविन लामाले एक एक गोल गरे । मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काए ।

एपीएफ १४ वर्षपछि आहा राराको फाइनल पुगेको हो । यस अघि २०६४ मा एपीएफले फाइनल खेलेको थियो ।

अब एपीएफले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।