पोक्लाबाङ यकको प्रथम साधारणसभा सम्पन्न

  • पोक्लाबाङ् कक्ष ,

 


माघ १, फेदाप /
पोक्लाबाङ यक माङगेन्ना लुङ्धुङ थाम्रुङ फेदापको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

फेदाप पोक्लाबाङ स्पोर्टिङ युवा क्लबको सभाहलमा आयोजित साधारणसभा बृहतरुपले सम्पन्न भएको १८ थरी लिम्बुहरुले आफ्नो उद्गम भूमी माङगेन्ना यक पोक्लाबाङलाई मान्ने गरेका छन् । फेदाप पोक्लाबाङ एक ऐतिहासिक स्थल पनि हो । यस संस्था गत बर्षको फागुन २५ र २६ गते पोक्लाबाङ भेलाले स्थापना गरी २०७८ साउन ११ गते जिल्ला प्रशासन कार्यालय तेह्रथुममा विधिगत दर्ता सम्पन्न गरिएको थियो ।

साधारणसभा सभाको उद्घाटन कार्यक्रम सुरु हुनु पुर्व बिहान माङगेन्ना यकमा १८ थरीहरुको सामुहिक माङहुक्वा वादेम्मा कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि फेदाप गाउँपालिका अध्यक्ष हरि प्रसाद हुक्पाचोङबाङले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरि प्रसाद हुक्पा चोङबाङले यस संस्थाको उन्नति र विकासका लागि स्थानीय फेदाप सरकारले हातेमालो गरेर अघि बढ्नु पर्ने बताए ।

कार्यक्रममा फेदाप गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर भट्टराई, हुक्पाचोङबाङ कल्याण संघ सचिब देवराज हुक्पा चोङबाङ, निङ्लेखु उत्थान संघ प्रतिनिधि नन्द प्रसाद निङ्लेखु, आङ्बुङ समाज अध्यक्ष धन सुन्दर आङ्बुङ, सिङ्गक समाज नेपाल नर बहादुर सिङगक, याक्थुङ पङ्धाक संघ लोकमान पंधाक, याक्थुङ तेयुङ संजुम्भो कृष्ण तेयुङ, हुक्पामादेम्बा समाज अध्यक्ष चन्द्र बहादुर हुक्पा मादेम्बा, याक्थुङ खापुङ संजुम्भो इन्द्र बहादुर खापुङ लुम्फुङ्वा कल्याणकारी संघ राज्य प्रसाद लुम्फुङवा, पाहिम समाज लोकमान पाहिम, सम्बाहाङ्फे उत्थान संघ लोक ब सम्बाहाङ्फे र मुसाहाङ समाज केन्द्रीय महासचिव डिल्लीश्वर मुसाहाङ अम्याङ्साले आ–आफ्नो धारणा राखेका थिए ।

 

साधारणसभाले १८ बुँदे कार्यपत्र समेत पारित गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष सेसेहाङ हुक्पाचोङबाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य राज कुमारी सिङगकले राखेकी थिइन्
भने संस्थाका महासचिव टेक बहादुर खापुङले संचालन गरेका थिए ।

 

कार्यक्रममा लिम्बूहरुको महान चार्ड कक्फेक्वा तङनाम तथा येले तङ्बे ५०८२ को शुभकामना आदानप्रदान कार्यक्रम समेत सहभागिहरुबीच भएको थियो ।