काठमाडौं, पुस २८/ नेपालका तीन दर्जन किराती भाषाहरुलाई समेटेर लेखन प्रणाली विस्तार गर्ने गरी ‘किरात सिरिजङगा लिपि’ निर्माण गरिएको छ ।
भाषाविद् तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारामणि राईको नेतृत्व गठन गरिएको कार्यदलले किरात सिरिजङगा लिपिबारे अध्ययन तथा अनुसन्धान गरी ९४ पेजको प्रतिवेदन किरात समन्वय समितिलाई बुझाएको छ ।
समितिले किराती भाषाहरुलाई समेट्ने गरी साझा लिपि तयार पार्न गत २७ सेप्टेम्बरमा कार्यदल गठन गरेको थियो,जसमा प्राज्ञ अमर तुम्याङ, डा. लाल श्याकारेलु रापचा, डा. गणेश जिमी, गणेश राई, डीबी आङ्बुङ, इन्दिरा जिमी, उत्तम सुनुवार र तिर्थराज मुकारुङ सदस्य थिए ।
जसमा ४८ वटा व्यंजन वर्ण र १२ वटा स्वर वर्ण राखिएको कार्यदलले हिजो, समिति अध्यक्ष तथा सुनुवार सेवा समाजको अध्यक्ष रणवीर सुनुवार लगायतका प्रतिनिधिहरुलाई प्रतिवेदन बुझाएको हो ।
समिति सदस्य तथा किरात राई यायोक्खा अध्यक्ष दिवस राईले केही सुझावहरुसहित कार्यदलले दिएको प्रतिवेदन अनुमोदन गरिएको बताए ।
कार्यदलले बुझाएको प्रतिवेदन आगामी १५ जनवरी (माघ १ गते) काठमाडौंको कोटेश्वरस्थित यायोक्खा कार्यालय परिसरमा येले संवत् ५०८२ को अवसरमा कार्यक्रम गरी सार्वजनिक गरिने उनले बताए ।