- पोक्लाबाङ संवाददाता
पथरी, पुस २८/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को दोस्रो प्रादेशिक अधिवेशनको क्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पहिचानको आधारमा प्रदेश १ को नामकरण गर्न तत्कालीन प्रधानमन्त्री तथा केपी शर्मा ओली सरकारले नदिएको आरोप लगाएका छन् ।
नदीको नामबाट प्रदेशको नामकरण गर्न निर्देशन दिएका कारण नामकरण गर्न नसकेको उनले बताए । ‘तत्कालीन नेकपाको सरकार रहँदा प्रदेशमा दुई तिहाइको सरकार थियो । त्यसबेला प्रदेशको नामकरण राख्न बहुमत थियो । तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले नदीको नाम राख्न निर्देशन दिँदा प्रदेशले नाम पाएन,’ उनले भने ।
उनले पाँच दलीय गठबन्धन सरकार पहिचानका आधारमा प्रदेशको नामरकण गर्नुपर्ने पक्षमा रहेको बताए । तर, प्रतिपक्षी दलको सहमतिविना नामकरण गर्नका लागि अझै असम्भव हुने बताए । उनले भने, ‘हामी पहिचानका आधारमै नामकरण गर्ने पक्षमा छौँ, तर प्रतिपक्षीको असहयोग रहेमा अझै नामाकरण हुन सक्दैन ।’
सत्तारुढ दलले चाहेर मात्र प्रदेशको नामकरण हुन नसक्ने भएकाले विपक्षी दलको पनि साथ सहयोग गर्नुपर्ने बताए । फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले फोनिजले पछाडि पारिएका समुदायलाई पहुँच र प्रतिनिधित्वका लागि सञ्चार क्षेत्रबाट बहस चलाउँदै आएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरेले नेताहरू जनताको प्रतिनिधि भए पनि अहिले आएर बाघजस्तो प्रवृत्ति देखाएको बताए । उनले सन्यासी र मुसाको कथा प्रसङ्ग उठाउँदै नेताहरू बाघ नभई मुसा भई काम गर्नका लागि आग्रह गरे ।
महाधिवेशन उद्घाटनको अवसरमा फोनिज प्रदेश १ को मुखपत्र ‘अग्रगामी कदम’ सार्वजनिक गरिएको छ । फोनिजको चिनारीसहित गतिविधि समेटिएको मुखपत्र प्रमुख अतिथि आङ्बोले सार्वजनिक गरे ।
महाधिवेशनमा फोनिजका अध्यक्ष डण्ड गुरुङलाई अभिनन्दन गरिएको छ । त्यस्तै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । अग्रज पत्रकार प्रदीप मेन्याङ्बो, धिरेन्द्र चौधरी, पथरी शनिश्चरे नगरपालिकालाई सम्मान गरिएको छ । त्यसैगरी नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित फोनिजकर्मीहरुलाई समेत सम्मान गरिएको छ ।
महाधिवेशनमा फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, वरिष्ट उपाध्यक्ष गजुरधन राई, सचिव मिलन लिम्बू र कमन देवानलगायतको उपस्थिति छ । महाधिवेशनका लागि प्रदेश १ का १४ जिल्लाबाट करिब १ सय प्रतिनिधि र पर्यवेक्षकको उपस्थिती छ ।
‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराका जारी महाधिवेशनले २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गर्नेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष २ (१ महिला), महासचिव १, सचिव २ (संगठन र संस्थागत), कोषाध्यक्ष १ र १४ जना सदस्य निर्वाचित हुनेछन् ।
महाधिवेशनमा अग्रज पत्रकाहरुलाई सम्मान एवम् जातीय झाँकीहरुको प्रदर्शन गरिएको थियो । महाधिवेशनमा धिमाल जातिको कला संस्कृतिका साथै लिम्बु जातिको केलाङ (च्याब्रुङ नाच), राई जातिको साकेला एवम् तामाङ, सन्थाल, झाँगडलगायतको सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिने भएको छ ।
उद्घाटन सत्रपश्चात् बन्दसत्रका क्रममा जिल्लाका अध्यक्षहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए । आज (बुधबार) प्रदेशले प्रतिवेदन र सांगाठानिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । अधिवेशनले नयाँ कार्य समिति चयन पनि गर्ने निर्वाचन मन्डलका अध्यक्ष कौशल चोम्जोङले जानकारी दिए ।