पूर्व शिक्षक सेलिङ्‌को शिक्षा संस्मरण विमोचित

  • पोक्लाबाङ् डेक्स

    काठमाडौँ, मङ्सिर २३, २०७८ / शिक्षा अभियन्ता भीमकुमार सेलिङ्को शिक्षा संस्मरण कृति “शिक्षामा चवालिस वर्ष“ एक कार्यक्रमबीच मङ्सिर २३ गते बिहीबार यलखिम् ललितपुरमा विमोचन भएको छ ।

    माननीय स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्री भवानी प्रसाद खापुङ्को प्रमुख आतिथ्यमा विमोचित उक्त कृतिप्रति समीक्षा तथा शुभकामना समेत व्यक्त गरिएको छ । लिम्बुवान, पान्थरको याङ्वारक गाउँपालिका ओयाम निवासी चौहत्तर वर्षीय लेखक भीमकुमार सेलिङ्ले उक्त कृतिमा आफ्नो ४४वर्षे शिक्षक जीवन तथा शैक्षिक अभियानको ऐतिहासिक संस्मरण प्रस्तुत गरेका छन् ।

    कृतिको विमोचन गर्दै प्रमुख अतिथि राज्यमन्त्री खापुङ्ले नेपालको हरेक परिवर्तनमा शिक्षकहरूको महत्त्वपूर्ण ऐतिहासिक भूमिका र योगदान रहेको चर्चा गर्दै लेखकको यस कृतिले पान्थर ओयामको त्यस्तै योगदानको ऐतिहासिक अभिलेख राखेको कार्यक्रममा समीक्षात्मक टिप्पणी राख्दै युवा कवि स्वप्निल स्मृतिले सेलिङ्को सो आत्मसंस्मरण कुनै बनि बनाउ साहित्य नभइ यथार्थ भोगाइ र योगदानको सही अभिलेख भएको बताए ।

    कृतिप्रति शुभकामना मन्तव्य राख्ने क्रममा रङ्गवादी साहित्यकार तथा याक्थुङ लेखक संघका सल्लाहकार धर्मेन्द्रविक्रम नेम्बाङ्ले उक्त कृति शैक्षिक जगतको सबाल्र्टन आवाज र अभिलेख भएको बताए । सोही कार्यक्रममा आफ्नो विचार राख्दै मदन पुरस्कार विजेता तथा आदिवासी जनजाति लेखक महासंघका अध्यक्ष राजन मुकारुङ्ले यस्तै सिमान्त क्षेत्र र पक्षका कृतिले मात्र नेपालको वास्तविक शैक्षिक इतिहास र अवस्थाको प्रतिविम्ब उत्तार्दै सही दिशा निर्देश समेत गर्ने दावी गरे । अर्का मदन पुरस्कार विजेता पूर्व प्र.जि.अ. भगिराज इङ्नामले यो कृति एक जीवन्त सुब्बा परिवारको कृति भएकाले यसले लिम्बू सुभा प्रथा र परिवारको यथार्थ चित्रण समेत गर्न सकेको बताए ।

    कार्यक्रममा नेपाल प्रहरीका एसएसपी चन्द्रकुबेर खापुङ् र पूर्वउपरथी होमकुमार लाओती पापोहाले समेत शुभकामना मन्तव्य राखेका थिए । कृतिका प्रकाशक ओयाम सरोकार समाज, काठमाडौँको आयोजना र अध्यक्ष खिम सेलिङ्को सभाध्यक्षता तथा उपाध्यक्ष सर्मिला न्यौपानेको स्वागत मन्तव्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव विष्णु शंकरले गरेका थिए ।