दमकमा प्रभातफेरी र सम्मान

पोक्लाबाङ्  ,  दमक/ आन्तरिक राजश्व कार्यालय दमकले बुधबार दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह अन्तर्गत प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । यही मंसिर १ देखि ७ गते सम्म चल्ने कर सप्ताहका अवसरमा आन्तरिक राजश्व कार्यालय दमकले बुधबार विहान प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।

 

दमक-५ स्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट शुरु भएको प्रभातफेरी दमक गणतन्त्र चोक ,फर्निचर लाइन शंखधर साख्वा चोक, सुर्तीलाइन हुँदै नमुना बजारमा पुगेर सभामा परिणत भएको थियो । राजश्व कार्यालय दमकका निमित्त कार्यालय प्रमुख कर अधिकृत तिलक आलेको अध्यक्षतामा भएको कार्यक्रमका सहभागी बक्ताहरुले सरकारलाई कर तिर्नु संस्था, हरेक कर्मचारी ,नेता नागरिक, ब्यापारी, ब्यवसायी सबैको कर्तब्य र जिम्मेवारी भएको कु्रामा जोड दिएका थिए ।

दमक उद्योग वाणिज्य संघ दमकका कार्यवाहक अध्यक्ष राजु खड्काले प्रविधिमैत्री कर प्रणालीलाई सबैले प्रयोगमा ल्याउनु पर्ने बताए । कार्यक्रममा शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष भोलानाथ मैनाली र कमल उद्योग वाणिज्य संघ कमलका अध्यक्ष उमानाथ भण्डारीले स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि, सुशासन, विकास र समृद्धि भन्ने नारालाई ब्यवहारमा रुपान्तरण गर्नुपर्ने कुरामा जोड दिए । इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी नवराज कार्कीले कर स्वेच्छिक भन्दा पनि अनिवार्य रुपमा राज्यलाई नागरिकले कर तिर्न पर्ने बताए । त्यस अवसरमा पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालले पनि मन्तव्य राखेका थिए ।

कर सप्ताह अन्तर्गत सप्ताहब्यापी करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिने आन्तरिक राजश्व कार्यालय दमकका कर्मचारी प्रदिप बरालले जानकारी गराए । यसैगरी आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजना र विर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा बुधबार विर्तामोडमा विशेष समारोह सम्पन्न गरियो । विर्तामोडको मुक्तिचोक परिसरमा आयोजित दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । सो अवसरमा साविक मेची अञ्चलको चार जिल्लाका एक-एक सर्वाधिक करदातालाई सम्मान गरिएको थियो ।

 

 

झापाबाट सर्वाधिक करदाताका रुपमा भद्रपुरको साहेवाला ट्रेडिङ प्रा. लि., इलामबाट फिक्कल उत्तम स्टोर, पाँचथरबाट जय अम्बे ट्रेडर्स एण्ड सप्लायर्स र ताप्लेजुङबाट सलिना सप्लायर्स सम्क्मानित भएका हुन् । आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजालको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले नेपालको राजश्व आयातमा निर्भर रहेकाले आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई बढाउन र आन्तरिक करको दायरा बढाउनुपर्ने आवश्यकता रहेको बताए ।