उर्लावारी, २९ कातिक २०७८ / अस्पतालको नाम परिवर्तन भएपनि सेवा र गुणस्तरमा स्तरोन्नति नभएको भन्दै आलोचना खेपिरहेको उर्लावारी-३ मंगलबारे स्थित मंगलबारे अस्पताल (हाल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर) मा ‘कार्यकर्ता भर्ती’ गर्ने किसिमले करारमा जागिर खुलेको छ ।
टेक्निसियन, नर्स र स्वास्थ्यकर्मीको हकमा लिखित र मौखिक अन्तर्वाता लिएर भर्ती गर्ने तयारी भएपनि अन्य पदहरुमा कार्यकर्ता भर्ती गर्ने उद्देश्य अनुरूप विज्ञापन खुलाइएको भन्दै युवाहरुले पहिल्यै खबरदारी गरेका छन् । अस्पतालले १० स्टाफ नर्स, ३ हेल्थ एसिस्टेन्ट, १ होमियोप्याथिक एसिस्टेन्ट,१/१ फिजियोथेरापिस्ट र बायोमेडिकल एसिस्टेन्ट, ६ कार्यालय सहयोगी र ६ सरसफाइ कर्मचारी गरी कूल २९ पदमा विज्ञापन खुलाएको हो ।

विगतका दिनहरुमा पनि कार्यालय सहयोगी भन्दै आफ्ना आसेपासे र नातेदारहरुलाई ‘कार्यालय सहयोगी’को रूपमा नियुक्त हुने गरेको यो अस्पतालमा यसपाली पनि कार्यकर्ता भर्ती गर्ने हिसाबले विज्ञापन खोलिएको हुन सक्ने भन्दै सचेत हुन स्थानीय युवा दिनेश लिम्बुले वताए ।
अस्पतालले कार्यालय सहयोगी र सरसफाइ कर्मचारीको हकमा मौखिक अन्तरवार्ताको भरमा नियुक्त गर्न लागेको हो । यसरी नियुक्ती गर्दा पारदर्शी हुन नसक्ने उनको भनाइ छ । युवाहरुले अस्पालमा स्वास्थ्यकर्मी नियुक्ती गर्दा लोकसेवाले तयार गरेको पाठ्यक्रम र करारमा भएपनि लोकसेवा मार्फत नै कर्मचारी नियुक्त गर्न माग गरेका छन् । उनीहरुले अस्पतालमा नियुक्ती हुने जो कोही अस्पताल व्यवस्थापन समितिका नातेदार, पार्टीका कार्यकर्ता र तीनका आफन्त नियुक्ती नगर्न भन्दै खबरदारी समेत गरेका छन् ।
मंगलबारे अस्पताल व्यवस्थापन समितिको अध्यक्ष जिल्ला समन्वय समिति मोरङ अध्यक्ष नरेश पोख्रेल, एमाले नेताहरु भिष्मा रेग्मी,राजेन्द्र पौडेल, मुक्ती न्यौपाने,जनता समाजवादी विशाल आङ्देम्बे लगायत छन् । यस्तै, अस्पतालका मेसु सदस्यसचिव छन् भने उर्लावारी नगरपालिकाका मेयर र रेडक्रसका प्रतिनिधि पदेन सदस्य छन् ।
शेरधन राई नेतृत्वको सरकारले अस्पताल व्यवस्थापन समितिका सदस्यहरु चयन गरेकाले भर्खरै बनेको राजेन्द्र राई नेतृत्वको सत्ता गठबन्धनको प्रदेश सरकारले निर्णय उल्टाएर नयाँ समिति पनि गठन गर्न सक्छ ।
प्रदेश सरकारले समिति परिवर्तन गरेर नयाँ व्यवस्थापन गठन गर्न लाग्दा अस्पतालमा आफू अनुकुलका व्यक्तिहरु राख्नका लागि विज्ञापन खुलाएको पनि हुन सक्ने स्थानीय श्याम काफ्ले बताउँछन् ।