जनगणनामा त्रुटि भएको भन्दै आदिवासी जनजातिले गराए तथ्याङ्क विभागको ध्यानाकर्षण

उनीहरूले जात/जाति, पुर्खाको भाषा, मातृभाषा, दोश्रो भाषा, धर्मसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरू हेलचक्राइपूर्वक सोधिएको देशका विभिन्न ठाउँबाट जानकारी आएकोले अविलम्ब  सच्याउन आग्रह गरे । धर्म र भाषाको उत्तरहरू गणकहरू आफैँले भरिदिएको जानकारी आएकोले यसो नगर्न निर्देशन गर्न समेत उनीहरूले महानिर्देशकलाई आग्रह गरे ।

महानिर्देशक श्रेष्ठले उत्तरदाताले जे जवाफ दिन्छन् गणकहरूले सोही भर्नुपर्ने बताए । ‘उत्तरदाता भगवान हुन्, उनीहरूले जे भन्छन् गणकले सोहीअनुसार भर्नुपर्छ । दायाँबायाँ जे पायो त्यही गर्न मिल्दैन, जनगणनाको निर्देशिकाले त्यही निर्देश गरेको छ,’ श्रेष्ठले भने हामीले पनि त्यही भनेका छौँ ।’

‘गणक भाइबहिनीहरूको कतिपय विषयमा पर्याप्त ज्ञान नहुँदा कहीँकतै त्रुटी भएको हुन सक्छ, नियतवश हो भन्ने लाग्दैन,’ श्रेष्ठले भने, ‘प्रश्नावलीमा भएका प्रश्नहरूबाहेक अन्यथा नसोधी जे छ सो सोध्न र उत्तरदाताले जे भन्छन् हुबहु उतार्न बारम्बार भनिरहेका छौँ र तपाईंहरूले ध्यानाकर्षण गराएपछि हाम्रो संयन्त्रमार्फत थप सजग बनाउँछौँ ।’

नागरिकको पहिचानको सवालदेखि देशको योजना, कार्यक्रमको खाका कोर्ने आधार नै तथ्यांक भएकोले जनगणना हुँदै गर्दा भइरहेको त्रुटी, असंवेदनशीलता र लापरबाही समयमै नसुध्रिएमा तथ्यांक प्रक्रियालाई समेत अस्वीकार गर्ने प्रतिनिधिहरूले जनाएका थिए ।