प्रदेश नामाकरण पहिचानको प्रारम्भिक विन्दु मात्रै हो : वरिष्ठ नेता राई

काठमाडौं /  जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोककुमार राईले राजनीतिक व्यवस्था परिवर्तन भए पनि राजनीतिक परिवर्तनको कार्यभार पूरा हुन बाँकी रहेको बताएका छन् ।

शनिबारबाट काठमाडौंमा सुरु भएको ३ दिने किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन २०७८ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता राईले भने –‘मोटो रूपमा राजनीतिक व्यवस्था त भयो तर अझै पनि राजनीतिक प्रक्रिया सम्पन्न भइसकेको छैन ।’

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्ष भइसके पनि अझै विभेद् कायमै रहेको भन्दै राईले मानिसमाथि हुने कुनै पनि विभेद् अपराध भएको जिकिर गरे । विभेद् कायम रहि रहनुमा राज्य जिम्मेवार रहेको भन्दै उनले कानून, विधि र संविधानले यस विषयलाई आत्मसाथ गर्न नसक्नु दुःखद् भएको टिप्पणी गरे ।

पूर्वमन्त्री समेत रहेका उनले मुलुकमा पहिचानको विषय समस्या नभएर दिगो समाधानको उपाय भएको जिकिर गरे । उनले भने –‘पहिचानको विषयका वस्तुगत र भावनात्मक गरी दुई महत्वपूर्ण आयाम छन् । त्यसैले यसलाई बुझ्न आवश्यक छ ।’

प्रदेश नम्बर १ को नामाकरणको विषयतर्फ इङ्गित गर्दै नेता राईले भने –‘प्रदेश नामाकरण पहिचानको प्रारम्भिक विन्दु मात्रै हो । यो क्रमशः विस्तार भएर जान्छ ।’ उनले शान्तिपूर्ण बाटोबाट सहमतिको आधारमा पहिचानको आन्दोलन अघि लैजानुपर्नेमा जोड दिए ।