पान्थर, २६ कातिक / अधिवेशनमार्फत पान्थरका आठ वटै स्थानीय तहमा नेकपा (एमाले)को नेतृत्व चयन भएको छ ।
एमालेले देशब्यापी रुपमा निर्धारण गरेको पालिका अधिवेशन पान्थरमा बाढी र पहिरोको प्रकोपका कारण हुन सकेको थिएन । एमाले पान्थरले गत मंगलबारदेखि स्थानीय तहहरुको अधिवेशन आयोजना गरी आज सम्पन्न गरेको हो ।
जसमध्ये एक स्थानीय तहको नेतृत्व एमालेले मतदानबाट टुङ्ग्याएको छ भने बाँकी सबै स्थानीय तहमा सहमतिमा नयाँ नेतृत्व चयन भएको एमाले पान्थर जिल्ला समितिका उपसचिव नरबहादुर गुरुङले जानकारी दिनुभयो ।
फेदेनमा एमालेले जलकुमार तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ नगर समिति निर्वाचित गरेको छ । हिँजो सम्पन्न अधिवेशनबाट उक्त समितिको उपाध्यक्षमा हेमबहादुर फागो, सचिवमा दीपेन्द्र तुम्बापो र उपसचिवद्वयमा दीपेन्द्र थापा मगर र सुमन चापागाँई निर्वाचित भएका छन् । एमाले स्थायी समितिका सदस्य समेत रहनुभएका संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
जिल्लाको हिलिहाङ गाउँपालिकामा मदन गौतमको अध्यक्षतामा एमालेको ५१ सदस्यीय गाउँपालिका समिति निर्वाचित भएको छ । उक्त समितिको उपाध्यक्षमा दीपक सुहाङ, सचिवमा भीमप्रसाद हेम्ब्या र उपसचिवद्वयमा शिवप्रसाद दंगाल र वीरेन्द्र मंग्राती छन् ।
यस्तै फालेलुङ गाउँपालिकामा नन्दकुमार आङ्थुपोको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका समिति निर्वाचित भएको एमाले पान्थरका उपसचिव गुरुङले जानकारी दिनुभयो । उक्त समितिको उपाध्यक्षमा हरिप्रसाद चौहान, सचिवमा पुष्प तिम्सिना र उपसचिवद्वयमा पनिता राई र मानबहादुर खड्का छन् ।
यता जिल्लाको फाल्गुनन्द गाउँपालिकामा एमालेले विनोद आङदेम्बेको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका समिति निर्वाचित गरेको छ । उक्त समितिको उपाध्यक्षमा पूर्णकुमार नेम्वाङ, सचिवमा सन्दीपविक्रम नेम्वाङ र उपसचिवमा विकास चेम्जोङ छन् ।
यस्तै एमालेले तुम्बेवा गाउँपालिकामा डिल्लीराम बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका समिति निर्वाचित गरेको छ । उक्त समितिको उपाध्यक्षमा तेजचन्द्र सम्बाहाम्फे, सचिवमा कमल थापा र उपसचिवद्वयमा इन्द्रकुमार कुरुम्बाङ र गणेश सम्बाहाम्फे चुनिएका छन् ।
मिक्लाजङ (मिक्लुङथुम) गाउँपालिकामा फणिन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा एमालेको ४८ सदस्यीय गाउँपालिका समिति निर्वाचित भएको छ । गए राती सम्पन्न बन्द सत्रबाट मिक्लाजङ–६ का वडाध्यक्ष घिमिरेको अध्यक्षतामा सहमतिमा नयाँ समिति निर्वाचित भएको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा सन्दीप राई, सचिवमा दिनेश खनाल र उपसचिवद्वयमा नरेन्द्र फियाक र मणि थेगिम निर्वाचित भएका छन् ।
यस्तै याङवरक गाउँपालिकामा सन्तप्रसाद बेघाको अध्यक्षतामा एमालेको ५१ सदस्यीय गाउँपालिका समिति निर्वाचित भएको छ । आज विहान सम्पन्न गाउँपालिका अधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन भएको एमाले पाँचथरका सचिवालय सदस्य एवं याङवरक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिनुभयो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा रामकुमार योङहाङ, सचिवमा डिल्ली सुवेदी र उपसचिवमा वुद्धिप्रसाद सेलिङ (अनिष) र नरबहादुर खड्का निर्वाचित भएका छन् ।
कुम्मायक भने निर्वाचन
एमालेले कुम्मायक गाउँपालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व निर्वाचित गरेको छ । गाउँपालिका समितिको अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि आयोजक समितिका अध्यक्ष मेघराज निरौला र कुम्मायक गाउँपालिका–४ का वडाध्यक्ष पूर्णकुमार खड्कावीच चुनावी प्रतिस्पर्धा भएको थियो । गाउँपालिका समितिको अधिवेशनमा भाग लिएका १२० जना प्रतिनिधिहरु मतदानमा सहभागी भएका थिए । मतदानमा निरौलाले ९७ मत ल्याई विजयी हुनुभएको छ भने खड्काले २३ मत प्राप्त गर्नुभएको नवनिर्वाचित समितिका सचिव रुपेश सेर्माले जानकारी दिनुभयो । अध्यक्ष बाहेकका पदाधिकारीमा भने सहमति भएको छ । जसअनुसार गाउँपालिका समितिको उपाध्यक्षमा रिजवन सम्बाहाङफे, सचिवमा रुपेश सेर्मा र उपसचिवद्वयमा छविकुमारी ढकाल र इन्द्र चेम्जोङ निर्वाचित भएका छन् ।
एमालेले स्थानीय तहको नेतृत्वका अधिकांश पदमा युवाहरुलाई स्थान दिएको छ । अहिले पान्थरमा एमालेको १९५ सदस्यीय जिल्ला समिति छ । तर नवनिर्वाचित गाउँ तथा नगरपालिका समितिका अधिकांश पदाधिकारीहरु उक्त जिल्ला समितिका सदस्यहरु हुन् । एकमात्रै संघीय निर्वाचन क्षेत्र भएकाले आगामी अधिवेशनबाट जिल्ला समिति ६५ सदस्यीय हुने भएपछि युवाहरु गाउँ तथा नगरपालिकाको कार्यकारी जिम्मेवारीमा झरेका हुन् ।