वराहक्षेत्र / किरात धर्मगुरु आत्मनन्द लिङ्देनको विशेष उपस्थितिमा १३७ औ महागुरु फाल्गुनन्द जन्मजयन्ती सम्पन्न भएको छ ।
धर्मगुरु लिङ्देनले माङ्हिम परिसरमा निर्मित दुई भव्य मन्दिर (माङ्हिम) उद्घाटन गरेका छन् । उनले माङ्हिम परिसरमा निर्माण गरिएको महागुरु फाल्गुनन्दको पूर्णकदको सालिक समेत अनावरण गरेका छन् । कार्यक्रममा धर्मगुरु लिङ्देनले आफु राजनीतिक दाउपेच नजान्ने भन्दै प्रदेशको नामाकरणको विषयमा ’ किरात सगरमाथा ’ नाम राख्दा कसैलाई आपत्ति नहुने बताएका छन् । उनले बुद्ध र महागुरूको भूमिमा विश्व शान्ति र मानवताको कामना समेत गरेका छन् ।
कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेश १ को नाम पहिचानको आधारमा ’किरात’ हुनुपर्ने बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनका कारण प्रदेश १ ले पहिचानका आधारमा नाम प्राप्त गर्न नसकेको आरोप समेत लगाएका छन् ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले समेत किरात प्रदेश नामाकरण हुने प्रतिबद्धता व्यक्त गरेकाले प्रदेश १ ले चाडै नाम प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले नेकपा एमालेलाई समेत पहिचानका आधारमा नामकरण गर्न सघाउन अनुरोध गरे । अन्यथा निर्वाचनमा जनताले मूल्याङ्कन गर्ने चेतावनी दिए । सोही कार्यक्रममा प्रदेश १ की सामाजिक विकास राज्य मन्त्री विष्णुमाया तुम्बाहाम्फे राईले १ नम्बर प्रदेशको नाम किरात लिम्बुवान हुनु पर्ने मत राखेकी छन् ।
१६ आंै राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्ती समुद्घाटन तथा पूर्णकदको शालिक अनावरण कार्यक्रममा वराहक्षेत्रको नडाहामा आर्थिक मामिला तथा योजना मन्त्री आङ्बो र राज्यमन्त्री राईले प्रदेश १ को नामकरणको विषयमा आफ्नो अभिव्यक्ति दिएका हुन् । बराहक्षेत्रको नडाहस्थित किरातेश्वर हाङसाम युमा माङहिम प्राङ्गणमा किरात धर्म दर्शनका महान् दार्शनिक समाज सुधारक एवम् राष्ट्रिय विभूति मुहिङ्गुम अङ्सीमाङ् फाल्गुनन्द लिङ्देनको जन्म जयन्ती आयोजना गरिएको थियो ।