महागुरु फाल्गुनन्द समाज सुधार, शान्ति र एकताका एक प्रतीक हुन् । तत्कालीन समाजमा व्याप्त विकृत संस्कार र परम्परा सुधार्न महान् अभियान थाल्ने सम्मानित व्यक्तित्वका रूपमा उनी स्थापित छन् ।
जन्म ः
वि. सं. १९४२ साल कातिक २५ गते (सन. १८८५ नेभेम्बर ८) आइतबार राती नेपालको पूर्व लिम्बुवान (प्रदेश नं.१) माङ्सेबुङ् गाउँपालिका वडा नं. २, चुक्चिनाम्बामा बुबा जगुनबाज लिङ्देन र आमा हंसमति बेघा लिङ्देनको कोखबाट साइँला छोराको रूपमा सामान्य किसान परिवारमा महागुरु फाल्गुनन्द लिङ्देनको जन्म भयो । महागुरुको जेठी दिदी, जेठा र माहिला दाजुको जन्मपछि आमाबाट जन्मिएका सबै शिशुहरु जिवित रहेनन् । महागुरु जन्मदाँ आमाको स्तनमा घाउखटिरा आएको र जन्मिएको ३–४ घण्टासम्म नरुने, आमाको दूध नचुस्ने हुनाले जिवित रहने आशा झनै थिएन, तर अरु बेलाको भन्दा ठूलो र ३–४ घण्टासम्म जिवित नै रहेपछि भोकले मर्ला भन्ने डरले जवर्जस्ती स्तनपान गराउन खोज्दा पनि नमाने पछि चार दिनअघि व्याएको कालो बाख्राको दूध खुवाएर शिशुको पालन पोषण भयो ।
सो बालक मिनेट, घण्टा हुँदै न्वारनको दिनसम्म पनि केही नभएकोले आमा बाबा, परिवार र छरछिमेकमा समेत हर्ष जागेर आयो । न्वारनको दिन नाम नरध्वज राखिए पनि उनी जन्मनु भन्दा पहिला धेरै सन्तान जिवित नरहेकोले फलामे साधन लगाई दिए स्वस्थ्य र दीर्घायु हुन्छ भन्ने त्यस समयको प्रचलन अनुसार बाबाले फलामको चुरा र कल्ली लगाई दिए । फलामको चुरा र कल्ली लगाएको हुनाले उनको नाम “फलामसिं” रहन गयो ।
बाल्यकालः
फलामसिंले आमाको दूध खान नपाउँदै आमा हंसमतिको निधन भयो । अबोध बालक सहित घर व्यवहार चलाउन संकट परेकोले घर–छरछिमेक, इष्टमित्रको करकापमा बाबा जगुनबाजले अर्को विवाह गर्नु भयो । कम बोल्ने, शान्त स्वभावको, एकान्तप्रेमी, मिष्ट–भाषी, हंसिलो, गम्भीर चाल–चलन भएको बालक सानी आमाको रेखदेखमा हुर्कंदै जानु भयो । गरिब खान, लाउन, बस्न दुःख भएको परिवारमा जन्मिएका बालक गाई बाख्रा गोठाला गर्दै वन जंगल, खोलानाला, डाँडाकाँडा चहार्दै ८ वर्षको हुनुभयो ।
एकदिन फलामसिंलाई सानी आमाले बुवालाई सातुचामल गोठमा पुर्याउन पठाउनुभयो । चामलसँगै मासु पनि भएको फलामसिंलाई थाहै भएन । चुक्चिनाम्बामा खान, लाउन, बस्न दुःख भएकाले जगुनबाजले पनि माइखोलापारि जितपुरको खत्रक्पा खोल्सीपारि दानाबारीको बोरुङ सहवीरे भन्ने ठाउँमा हिउँदमा गाई गोठ राखेर वस्नु भएको थियो । महागुरुको बाबा गोठ लगेर उतै बस्ने भएकाले समय–समयमा घरबाट सामलतुमल (खाद्यसामग्री) पुर्याउन जानु पथ्र्यो । फलामसिं डोको बोकेर खोला तरिसकेपछि उहाँलाई अचानक ज्वरो आउन थाल्यो ।
एकैछिनमा शरीर भरि फोकैफोका उठ्यो । हनहनी ज्वरो आयो, बोल्नै नसक्ने हुनु भयो । मुस्किलले गोठमा पुग्दा छोराको त्यस्तो अवस्था देखेर बुवाले आतिँदै के भयो भनेर सोध्नुभयो । छोराले आँसु खसाउँदै टुलुटुलु हेरि मात्र रहेको देखेर सानी आमाले ८ वर्षका बिरामी छोरालाई वास्ता नै नगरी यत्रो भारी बोकाएर पठाएछ भन्ने सम्झनुभयो । छिमेकीहरूलाई परिस्थिति बुझाएर गोठ हेर्न लगाई छोरा बोकेर घरतिर फर्कनुभयो । श्रीमतीसँग रिसाउँदै छोरा बोकी घर पुग्दा आमाले आश्चर्य जनाउँदै घरबाट बाटो लाग्दा बिराम नभएको कुरा बताउनु भयो ।
घरबाट हिड्दा केही नभएको छोरा अचानक कसरी यस्तो भयो भनि अत्तालिदै फेदाङमा, बिजुवा लगाउनु भयो । त्यस समय त्यो भन्दा अरु कुनै विकल्प पनि थिएन । चार दिनसम्म फेदाङमा, बिजुवाहरु लगाउँदा पनि बिरामी फलामसिं विहोस नै थिए । विहोस फलामसिंलाई हरेक रात छिमेकीहरु भेला भएर बिरामी रुङ्ने क्रम चलिनै रहेको थियो । चौथो दिन बेलुकीपख गाउँलेहरूले रुँगि राखेको बेला बेहोस् अवस्थामा लडिरहेको फलामसिं एक्कासी उठेर जंगलतिर दौडनुभयो । ३–४ जना युवाहरु ८ वर्षिय विरामी बालकको पछि–पछि दौडिए । उहाँ घर नजिकैको जंगलमा पस्नु भयो । हराउनु भयो । सबै मिलेर भोलि विहानसम्म निरन्तर खोजे तर कतै फेला पारेनन् ।
दिब्य ज्ञान (धार्मिक ज्ञान) प्राप्तः
फलामसिं विरामीले विहोस भएर सुतेको ४ दिन भई सकेको थियो । साँझ पर्न लागको समयमा आफु जस्तै एक दिव्यपुरुष जंगलतिरबाट आएको देखे । फलामसिंलाई अत्यन्तै आकर्षक ढङ्गले आऊ भनी बोलाए । गाउँलेहरूले रुँगी रहेको भएपनि ती पुरुषलाई फलामसिंले बाहेक अरु कसैले पनि देखेनन् । दिब्यपुरुषको आकर्षक बोलाइले गर्दा विहोसी बालक एक्कासी जुरुक्क उठेर ति दिव्यपुरुष भएतिर दौडेर गए । दिब्यपुरुषको पछि पछि जाँदा जंगल हुँदैं बिरामी हुनु अघिको खोलाको किनारमा पुग्नु भएछ । त्यसपछि महागुरुलाई दिव्यपुरुषले माइखोलामा नुहाउन लगाए । केहीमाथि खत्रक्पाको खोल्सीमा लगेर लामपाते रुखको फेदमा उभ्याई खुट्टानेर भुँई खोस्रेर सिमीको दाना रोपे जस्तो गरे । त्यो बीउ तत्कालै उम्रेर लहरा भई बालकलाई रुखसँगै चल मलाउन नसक्ने गरी बाँधेपछि त्यो दिव्य पुरुषले बालकलाई प्रश्न गर्न थाले ।
दिव्य पुरुष ः ‘‘मलाई चिनिस् कि चिनिनस् ?’’
बालक ः ‘‘चिनिन ।’’
दिव्य पुरुष ः ‘‘अघिल्लो जन्मको कुरा बिर्सिस ?’’
बालक ः बिर्सें, ‘‘थाहा छैन ।’’
दिव्य पुरुष ः ‘‘अघिल्लो जन्मको धर्म कर्महरु बिर्सिस ?’’
बालक ः बिर्सें, ‘‘थाहा छैन ।’’
दिव्य पुरुष ः ‘‘अघिल्लो जन्मको शिक्षा लिपी, संस्कार, संस्कृतिहरु बिर्सिस ?’’
बालक ः बिर्सें, ‘‘थाहा छैन ।’’
दिव्य पुरुष ः ‘‘राम्रो सम्झी, सबै थाहा पाउँछस् ।’’
बालक ः ‘‘अहँ थाहा पाइन ।’’
दिव्य पुरुष ः ‘‘मासु बोकेर यो खोलामा किन पसेको? त्यो खानु हुँदैन भन्ने बिर्सिस?
(माइखोलातिर औंल्याउँदै) ऊ आमासँग माफी माग’’ भन्दै दिव्य पुरुष त्यही अल्पिए ।
फलामसिंले खोलातिर फर्केर माफी माग्दा आफ्नो शरीर नै हल्का हुँदै आयो । रुखसँगै बेरिएको लहरा आफै हरायो । शरीरको कम्प, पीडा सबै हराइसकेको थियो । अत्यन्तै आनन्द भयो । मन हलुङ्गो र शान्त भयो । फुर्ति बढेर आयो । केही गरौं–गरौं जस्तो भयो । रुखसँग छुट्टिएर खोलातिर फर्किदा कानमा फेरी दिव्य बाजागाजाहरु (माङबाजा)को ध्वनीले संसार गुञ्जिएको जस्तो हुन थाल्यो । त्यतिकैमा खोलाको बीचबाट सुकिलो आभूषणमा मौलिक गरगहनाले सुसज्जित दिव्यसुन्दरी युमा साम्माङ् वा युमामाङ् निस्केर हल्का मुस्कानका साथ आई बालकको शरीरमा सुमसुम्याउँदै बडो सुमधुर स्वरमा धेरैबेर पहिलाको कुराहरु संझाए । हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारी जाती सृष्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चो सम्मान गर्नु पर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकी चोखो नीतोसँग ‘माङ्सेवा’ (पूजा आराधना) गर्नु पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने, शिक्षा, भाषा लिपि, संस्कार तथा मुन्धुमको पुनःउत्थान गर्नुपर्ने जस्ता कुराको दिव्य ज्योती छोडेर ‘‘तपस्वी गुरु÷महागुरु हुन्छौ, अगाडिको सर्तहरु सबै पूरा गर्नु । मैले नै तिमीलाई यहाँ बोलाउन पठाएकी हुँ’’ भनी मुस्कुराउँदै पुनः खोलातर्फ गइन् । त्यतिकैमा आनन्ददायी दिव्य माङबाजाहरु फेरि बज्न थाले । दिव्यस्त्री(युमा माङ)लाई पछ्याउँदै बालक खोलातर्फ बढ्दै जाँदा पानीमा पसी चुर्लुम्म डुब्नु भयो । दिव्यस्त्री त्यही लोप भइन् । बालक निथ्रुक्क भिजेर खोला बाहिर निस्की दिव्यस्त्री कहाँ गइन् भनेर हेर्दै गर्दा पुनः अद्भूत दृश्य देखा पर्यो । मध्यरात भएपनि दिनको झैं उज्यालो देखियो ।
आकाशतिरबाट मुन्धुमका ठूल–ठूला मणीरत्न जडित सुनौला अक्षरहरु क्रमैसँग आफुतिर खस्न थाले । आँखै तिर्मिराउने मुन्धुमका मन्त्रहरूले भरिपूर्ण ती अक्षरहरु फलामसिंले दैवीशक्तिले पढ्दै जानुभयो । त्यसले बालकमा धार्मिक ज्ञानको बोध हुँदै गयो । सबै दृश्य सकिएपछि छर्लङ हुनुभयो । सपनाबाट ब्युँझे झैं हुनुभयो । आकाशमा जून ताराहरु मात्र देखिए । रातको जूनेली उज्यालो मात्र पाउँदा बालकलाई सपना हो कि विपना झैं लाग्यो । त्यो रात मंसिर पूर्णिमाको रात थियो । केहिवेर पछि विस्तारै उज्यालो हुदैं गयो । आफ्नै गोठको वारिपट्टिको जंगलमा छु भन्ने थाहा पाउनुभयो । ज्वरो, विमार र शरीरको फोकाहरु सबै निको भएको पाउँदा महागुरु असाध्ये खुशी हुनुभयो । केही क्षणमा घरबाट खोज्न आउने मानिसहरूसँग भेट भयो । खोज्न आउनेहरूले बालकलाई देखेपछि फेरि भाग्ने हो कि भनेर छेक्दै नजिक पुगेर समाते । बालक मुसुक्क हाँसेर किन समातेको भन्दा उनीहरू छक्क परे । कसरी बिराम निको भयो ? रातभरी कहाँ बस्यो ? के गर्यो ? किन भागेर जंगल पसेको ? किन यो खोलामा आएको भनेर गाउलेहरूले सोध्न थाले । बालकले सबै बृत्तान्त बताइदिनु भयो । बालकलाई लिएर घरमा पुग्दा छोरा निको भएर हाँस्दै आएको देखेर अचम्म र खुशी हुँदै आमा–बुवाले के भएर यस्तो भयो भनी सोध्दा मासु बोकेर खोला तर्न नहुने रहेछ भन्दै छोटो उत्तर दिनुभयो । खोज्न जानेहरूले अघि फलामसिंले भन्नुभएको सबै कुराहरु दोहोर्याएर आमा–बुवालाई सुनाए । घर आएर पनि वर्षौं घरी–घरी रातको समयमा उनै दिब्य पुरुष लिन आइरहन्थे । खोलामा घाँटी–घाँटी आउने वरफ झैं चिसो हिउँदे पानीमा डुबाएर उनै दिब्यनारी (युमामाङ) आएर अगाडिका दिव्यउपदेश, मुन्धुमका अक्षहरु देखाई रहन्थ्यो । आकाशतिरबाट झरेको सुनौलो मुन्धुमको अक्षरहरु पढिसक्दा नसक्दा बालकलाई एक्लै छोडेर सबै अन्त्रध्यान हुन्थे । धेरै पटक मध्यरात कटे पछि अन्त्रध्यान भै जान्थे र अँध्यारोमा चार पाउ गर्दै घर आइपुग्नु हुन्थो । कहिलेकाही भगवाने दिएको पुर्व जन्मको सास्ती हो जस्तै लाग्थ्यो । फेरी ति दिव्य पुरुष लिन आउँदा सबै विर्षेर रमाउँदै जानुहुन्थ्यो । ज्ञान लिनुहुन्थ्यो । त्यसरी, ८ वर्षको उमेरमै महागुरुले आर्जन गरेको ज्ञान नै किरात धर्मको मुल मुन्धुम बनेको छ ।
कार्यहरुः
शान्ति र अहिंसाको वकालतः
महागुरु फाल्गुनन्द वि.सं. १९६४ मा अंग्रेजको गोर्खाली पल्टनमा भर्ना भए । उनले १२ वर्ष फौजी जीवन विताए । वि.सं. १९७१ साउन १३ मा पहिलो विश्वयुद्व भई १९७५ कातिक २६ मा समाप्त भयो । युद्वमा ९० लाख सैनिक र ७० लाख सर्वसारधण मारिएका थिए । पहिलो विश्वयुद्वमा महागुरु फाल्गुनन्द ब्रिटिस गोर्खा सेनामा कार्यरत थिए।
प्रथम विश्वयुद्धताका महागुरु फाल्गुनन्द ‘ध्यानी हवल्दार’को रूपमा परिचित थिए । उनको कमाण्डमा एक सेक्सन सिपाही युद्वमा खटिएको थियो। युद्व चलिरहेको एक दिन आफ्ना सेक्सन सिपाहीहरूलाई भने, ‘हेर ! दुश्मन भनिनेहरू पनि हामी जस्तै मानिस हुन । जर्मनहरूले हाम्रो केही पनि बिगारेका छैनन्। उनीहरूलाई स्वास्नी, छोराछोरीले दुःख पाउँछन् तर हामीले सरकारको नुनपानी खाएका छौँ, नुनको सोझो गर्नुपर्छ । हुकुम पालना गर्नै पर्छ । यसकारण गोली कि अकाशतिर कि भुँइतिर हान्नू, मान्छेलाई ताकेर नहान्नु । माङ्लाई सम्झनु । सत्य र धर्ममा बसियो भने मरिँदैन ।’
फाल्गुनन्द युद्वको शान्तिपूर्ण समाधानका पक्षमा थिए । उनी हिंसा चाहँदैनथे। विश्वयुद्व समाप्त भएपछि उनी स्वदेश फर्किए । पहिलो विश्वयुद्व त्यसबेलासम्मको सबैभन्दा ठूलो युद्व थियो । युद्वले पैदा गरेको नरसंहार, रक्तपात, विध्वंस, पीडा, वियोग र विनासप्रति सायद वितृष्णा थियो उनमा । पल्टने जीवनपछि उनले शान्ति र अहिंसाका पक्षमा वकालत गरे ।
महागुरु फाल्गुनन्दले नेपाल, भारत, भूटान र वर्मा पुगेर विश्व शान्ति र अहिंसाको सन्देश छरे । महागुरु फाल्गुनन्दले वि.सं. १९७६, १९८६ र १९९३ मा भुटान भ्रमण गरेका थिए । त्यसबेला साम्ची राजरुख, ताला, ढुंगेना, छुसा, छुङफोलिङ र कोठी लाइन र तुम्बापो गाउँमा भ्रमण गरेका थिए । भुटान दाँगापेलामा छ महिनासम्म बसेर किरात लिपि, मुन्धुम र विश्व शान्तिबारे प्रचार प्रसार गरे।
पल्टने जीवनपछि उनले कुनै विलासी जीवन र सुख सहेलको खोजी गरेनन् । सुविधा सम्पन ठूला शहर रोजेनन् । पूर्वी नेपालको डाँडाकाँडा, गाउँघर घुमे । समाजमा द्वन्द्व, मारकाट, लडाइँ र झगडाको कारक तत्वको खोजी गरे । अधिक मद मदिराको सेवन, अशिक्षा र राज्यद्वारा अधिकारको असमान वितरण द्वन्द्वका कारणको रूपमा पाए । यसबाट समाजलाई बाहिर ल्याउन के गर्न सकिन्छ भनेर तत्कालीन लिम्बूवान (पूर्वी नेपाल)का थुम तथा गाउँ प्रमुख सुभा र तुम्याहाङहरूसँग थुप्रै चुम्लुङ (बैठक) गरे । त्यसमध्ये सबैभन्दा वृहत र ऐतिहासिक महत्वको चुम्लुङ् चाहिँ वि.सं. १९८८ बैशाख २४ गतेको पान्थर लब्रेमा सम्पन्न चुम्लुङ थियो ।
महागुरु फाल्गुनन्दले वि.सं. १९९४ हिउँदमा आफ्ना चेलाहरूका साथ माझ किरात भ्रमण गरे । त्यसबेला उनले उदयपुर, ओखलढुंगा र भोजपुरका गाउँगाउँ डुलेर भाषा, लिपि, संस्कृति, शान्ति र अध्यात्मिकताबारे प्रचार प्रसार गरेका थिए ।
मातृभाषामा शिक्षाको पहल ः
समाजको पछौटेपन र अज्ञानताको कारकका रूपमा ‘अशिक्षा’ रहेको महागुरु फाल्गुनन्दले थाहा पाएँ । महागुरु फाल्गुनन्दको पहलमा वि.सं. १९८८ बैशाख २४ गते सुरु भएको लिम्बुवान क्षेत्रका प्रशासनिक प्रमुख सुभा, सर्वसाधरण, भक्तजन र तुम्याहाङ्हरूको भेलाले सातबुँदे सत्यधर्म मुचुल्का निर्माण ग¥यो । मुचुल्कामा युमा माङ्िहम स्थापना गर्ने तथा मातृभाषामा शिक्षा दिन स्कुल खोल्ने उल्लेख गरेको थियो । त्यसबेला विद्यालयहरू खोल्न सहज थिएन । माङ्हिमहरूमा मुन्धुम शिक्षा लिने व्यवस्था गरे । मुन्धुम पठनपाठनका माध्यमबाट हजारौँ भक्तजन साक्षर भए ।
महागुरु फाल्गुनन्दले नेपालमा मातृभाषाको विषय उठान गरेको समयमा आम नागरिकका निम्ति शिक्षा लिने व्यवस्था थिएन । राणा शासकहरूले अंग्रेजी र संस्कृत भाषामा शिक्षालाई जोड दिइरहेका थिए । वि.सं. १९८६ मा पुस्तकालय खोल्ने योजना बनाइ रहेका लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ लगायतका दर्जनौँ युवालाई एक महिना कैद गरियो । वि.सं. १९८७ मा भीम शमशेरले पाठशाला संचालनमा रोक लगाए । अन्य आदिवासीका मातृभाषामा शिक्षाका विषय सोच्न सक्ने अवस्था थिएन । जहानियाँ राणा शासनकालमा शिक्षालाई नागरिकका आधिकारका रूपमा लिने गरिन्नथ्यो। शिक्षा शासकहरूको ताजबिजमा थियो । शाह राजा र राणा प्रधानमन्त्रीका सन्तानका निम्ति विद्यालयहरू खोलिएका थिए ।
हाल ‘मातृभाषामा शिक्षा’को मुद्दा शिक्षा क्षेत्रको जल्दोबल्दो विषय हो । संयुक्त राष्ट्र संघको पहलमा सन् १९९० मा थाइल्याण्डको जोम्तिममा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले ‘सबैका लागि शिक्षा’ नीति पारित गरेको थियो । उक्त नीतिको नेपालले पनि समर्थन गरेको थियो । सन् २००० मा सेनेगलको डकारमा सम्पन्न विश्व शिक्षा मञ्चको सम्मेलनले ‘डकार ढाँचा’ तयार पा¥यो । सोही ढाँचाको आधारमा नेपालले ‘मातृभाषाको माध्यमबाट आधारभूत तथा प्राथमिक शिक्षा पाउने अधिकार सुनिश्चित गर्ने नीति तय ग¥यो । ‘राष्ट्रिय शिक्षाको योजना आयोग’ले वि.सं. २०११ मा पेस गरेको प्रतिवेदनमा खस नेपाली भाषालाई शिक्षाको माध्यमको रूपमा सिफारिस ग¥यो । यसले खस नेपाली भाषाको विकासमा सहयोग पुगे पनि गैर खसभाषी विद्यार्थीमा शिक्षाको पहुँच विस्तार हुन सकेन । मातृभाषामा शिक्षा दिँदा सिकाई उपलब्धि राम्रो हुने निष्कर्ष संसारभरका शिक्षाविद्हरूले निकालेका छन् । नेपालको संविधान, २०७२ को धारा ३१ ले मातृभाषामा शिक्षालाई मौलिक हकको रूपमा उल्लेख गरेको छ । यसले महागुरु फाल्गुनन्दको शिक्षासम्बन्धी दूरदृष्टिलाई स्पष्ट पार्छ ।
मानवता, समानता र नारीवादी आन्दोलन
महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्काको माध्यमबाट अहिंसा र मानवतावादी आन्दोलन अघि बढाएका थिए । मुचुल्काले समाजमा लिंगीय, जातीय र भाषिक विभेदलाई हटाउन चाहेको थियो । सत्य धर्म मुचुल्काको पहिलो बुँदामा ‘छोरी चेलीको सोतरित लिन बन्द गर्ने’ उल्लेख गरेको छ । छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो, रहेको छ । किरात लिम्बू समुदायमा छोरीको विवाहमा ‘मोल’ नै तोकेर सोतरित लिने चलन समाजमा थियो, अझै छ ।
बली पूजा त्याग्ने विषयलाई सत्य धर्म मुचुल्काले जोड दिएको छ । मानिस आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्ने गर्छ । अन्य प्राणीलाई विवेकहीन र आत्मारहित प्राणीको रूपमा ठान्छ । आफ्नो भलो हुने आशामा अन्य प्राणीको बली चढाउने चलन पनि छ । सत्य धर्म मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई ‘माङ (ईश्वर)को सन्तान’को रूपमा व्याख्या गर्ने प्रयास गरेको छ । बली पूजा जीव हिंसासँग सम्बन्धित रहेकाले यसलाई त्यागेर अहिंसाको बाटोमा जीवनलाई डो¥याउनु पर्नेमा जोड दिएको छ । बली पूजाको ठाउँमा फलफूल चढाउनु पर्नेमा जोड दिएको छ ।
मुचुल्काले शाकाहारी जीवन पद्वतिमा जोड दिएको छ । मादक पदार्थ तथा मदिरा सेवनले व्यक्ति र समाजको स्वाथ्यमा नकारात्मक असर पार्ने भएकाले यसको सेवन नगर्ने मुचुल्कामा समावेश गरिएको छ । महागुरु फाल्गुनन्दले यी कार्यका निम्ति राजद्रोहको अभियोग भोग्नुप¥यो । उनलाई वि.सं. १९९०–९१ मा ‘लिम्बुवानको राजा बन्न खोजेको’ ‘रीतिथिति बिगारेको’ लगायतको अभियोगमा पक्राउ गरी काठमाडौं लगिएको थियो । वि.सं. १९९५ मा दोस्रो पल्ट गिरफ्तार भए उनी ।
मुन्धुम लिपीकरण ः
महागुरु फाल्गुनन्दले लिखित मुन्धुमको प्रयोगको थालनी गरे । वि.सं. १९८८ बैशाख २४–२८ गते पान्थर लबे्रमा निर्माण गरिएको ‘सत्य धर्म मुचुल्का’ले मुन्धुमलाई लिपिबद्व गर्ने उल्लेख गरेको थियो । उनले लामो समयदेखि मौखिक परंपरामा अभ्यास भइरहेको मुन्धुमलाई किरात सिरिजङ्गा लिपिमा लिपिवद्व गरे ।
‘थेबा–युमा खमा मुन्धुम’, ‘चासोक मुन्धुम’, ‘सोमाङ केमाङ मुन्धुम’, ‘साक्मुरा वदेम्बा मुन्धुम’, ‘साप्पोक चोमेन मुन्धुम’, ‘मेखिम खमा मुन्धुम’, ‘कुसाङ सेमा मुन्धुम’, ‘साम्सामा मुन्धुम’ लगायत चार दर्जन मुन्धुमहरूलाई महागुरुले लिपिवद्व गरेका छन ्। उनी आफैँमा मुन्धुमसावा थिए । जब उनमा ‘माङ लिन्छिङ’मा गथ्र्यो, उनले मुन्धुम भन्थे । चेलाहरूले किरात सिरिजङ्गा लिपिमा लेख्थे । चेलाहरू सधैँ गाउँमा निर्मित मसी र बाँसका कलमसँगै हिँड्ने गर्थे । उनले लिपिवद्व गरेको मुन्धुमलाई सम्पादन र छपाइमा ल्याउने कार्य मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ्ले गर्दै आएका छन् ।
हाल नेपाल, भारत (सिक्किम, दार्जिलिङ, आसाम), हङकङ, सिंगापुर, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, जापान, कोरिया, कतार लगायतका स्थानमा प्रयोग भइरहेको छ । माङ्सेबुङमा मुन्धुम पठनपाठन भइरहेको छ । अझ धेरै मुन्धुमहरू लिपिबद्व हुन बाँकी छन् ।
संहिताकृत मुन्धुमहरूलाई प्रयोग र अध्यायन गर्न माङ्हिमहरूको स्थापना गरियो । महागुरु फाल्गुनन्दका पालामा ताप्लेजङ, पान्थर, इलाम र भुटानका विभिन्न स्थानहरूमा माङ्हिमहरू स्थापना गरिए । ती माङ्हिमहरूमा ढोड र दियालो बालेर मुन्धुम पढ्ने गरेको महागुरुका जीवित चेलाहरु सुनाउँछन् । यो मुन्धुम पठनपाठनको अनौपचारिक थालनी थियो । यसैको निरन्तरता स्वरूप किरात धर्मगुरुले मुहिङ्गुम अङ्सीमाङ् लिङ्देन आत्मानन्दले वि.सं. २०४० तिर माङ्सेबुङ इलाममा ‘किरात साम्जिक मुन्धुम निसाम्हिम’ स्थापना गरी मुन्धुमको औपचारिक पठनपाठन सुरु गरेका थिए ।
विरामी दुःखीको सेवा
महागुरु फाल्गुनन्दले जीवनको पछिल्लो ३० वर्षको अधिकांश समय विरामी तथा दुःखीहरूको सेवामा बिताए । पल्टनमा आधुनिक औषधिले निको नभएका विरामीलाई मुन्धुमी विधि र जडिबुटीद्वारा उपचार गरे। यसबारे हेम बहादुर गुरुङ र कुलानन्द दहालद्वारा वि.सं. २०२३ मा प्रकाशित ‘महागुरु फाल्गुनन्द जीवनी’मा उल्लेख छ ।
महागुरु फाल्गुनन्द पल्टनमा रहँदा पनि विरामीहरूको सेवामा तल्लीन रहने गर्थे । महागुरु फाल्गुनन्द प्रकृतिका सबै तत्वहरूलाई माङको अंशका रूपमा सम्बोधन गर्ने गर्थे, जसले प्रकृतिसँग विवेकपूर्ण अन्तरक्रिया गर्ने तर्फ प्रेरित गर्छ । यसले खोलानाला, हावापानी, हिमाल, पहाड र समथर भूमिलाई सफा सुग्घर र संरक्षण गर्नु पर्नेमा फाल्गुनन्दको जोड रहेको स्पष्ट पार्छ ।
धामी, झाँक्री या फेदाङमा, साम्बा र अस्पतालले निको पार्न नसकेका अनेकौँ विरामीहरूलाई महागुरु फाल्गुनन्दले निको पारेका घटनाबारे थुप्रै पुस्तक, लेख र किंवदन्ती पढ्न र सुन्न पाइन्छ । उनले नेपाल, भारत, भूटान र बर्माका विभिन्न स्थानमा पुगेर बिरामी तथा दुःखीहरूका निम्ति माङ्सेवा तथा जडिबुटीबाट उपचार गरे । वि.सं. १९९३ मा महागुरु फाल्गुनन्द भुटान गए ।
वि.सं. २००१ मा काठमाडौंका जनरल विक्रम शम्शेर जबरा र उनकी श्रीमतीलाई उपचार गर्न महागुरु फाल्गुनन्दलाई काठमाडौं झिकाइएको थियो । तत्कालीन नायव वडागुरु पं. द्वीपराजको सल्लाह अनुसार जनरलले ‘पूर्वी लिम्बुवान पल्लो किरातमा एक जना तपस्वी लिम्बू ठूला गुरु’ लिन एक सिपाही पठाए । ‘ठूला गुरु’ महागुरु फाल्गुनन्दलाई भनिएको थियो । महागुरु फाल्गुनन्द काठमाडौं गए । सेवा र उपचार गरे । उनीहरू निको भए । महागुरुले दुःखीका निम्ति निःशुल्क सेवा गर्थे । उनलाई जनरलले उपकार वापत ५०० रुपैयाँ भेटी राखी विदा दिन खोज्दा आफूले उपकार वापत कहिल्यै रुपैयाँ पैसा लिने नगरेको बताए । उनलाई काठमाडौंमा बस्न अनुरोध भयो तर उनी काठमाडौं बसेनन् । उनले समाजका निम्ति सेवा गर्ने जिम्मेवारी रहेको बताए ।
लामो समय विराम भएका विरामीहरू उनले उपचार गरेपछि सजिलै निको हुन्थे । महागुरु फाल्गुनन्द जहाँ पुगे पनि विरामीको लाइन हुन्थ्यो । उनले योग साधनाबाट माङ्गेप्मा (निर्वाण) गर्नु भएको थियो ।
योग विज्ञानका अनुसार योगका माध्यमबाट आफूभित्र रहेको अद्भूत शक्तिलाई मानिसले कुनै अंगमा केन्द्रीत गर्न सक्छन् । यसरी शक्ति शरीरको कुनै अंगमा केन्द्रीत गरेको बिरामीलाई उपचार गर्न सकिन्छ । यसलाई ‘रेकी’ भनिन्छ । गौतम बुद्ध र फाल्गुनन्द बिरामीका अगाडि गइदिए पनि बिरामी निको हुने गरेको सुन्न, पढ्न पाइन्छ ।
मनोविज्ञानका अनुसार मानिस योग साधनाका माध्यमबाट ‘परमचेतन’ (सुपर कन्सियस)मा पुग्न सक्छन् । परमचेतना प्राप्त भएपछि मानिसले भूत, वर्तमान र भविष्यवारे थाहा पाउन सक्छन् । अर्कोतर्फ मानिसको ‘विलिभ सिष्टम’ (विश्वास प्रणाली) जागृत गराए पछि मानिस भित्रको अद्भूत शक्ति सक्रिय हुन्छ । मानिस भित्रको अद्भूत शक्ति जागृत भएमा बिरामीले रोग जित्न सक्छन् । महागुरु फाल्गुनन्दमा बिरामीको विश्वास प्रणाली जागृत गराउने विशेष क्षमता थियो, जसका कारण हजारौँ बिरामीको उपचार संभव भएको थियो ।
प्रकृति संरक्षण ः
महागुरु फाल्गुनन्द जहाँ पुगे पनि सेवा पूजा गर्ने गर्थे । उनले हिमाल, डाँडा, खोला, जंगल, ओडार र मैदानहरूमा माङ्सेवा गर्थे । उनले नेपाल, भारत, भुटान र बर्माका सयौँ स्थानहरूमा सेवा लगाएको कुरा विभिन्न लेख र पुस्तकमा उल्लेख भएको पाइन्छ । महागुरु फाल्गुनन्द प्रकृतिका सबै तत्वहरूलाई माङ्को अंशका रूपमा संवोधन गर्ने गर्थे, जसले प्रकृतिसँग विवेकपूर्ण अन्तरक्रिया गर्ने तर्फ प्रेरित गर्छ । यसले खोलानाला, हावापानी, हिमाल, पहाड र समथर भूमिलाई सफा सुग्घर र संरक्षण गर्नु पर्नेमा फाल्गुनन्दको जोड रहेको स्पष्ट पार्छ ।
पल्टने जीवनपछि महागुरु फाल्गुनन्दले स्वदेश विदेशका विभिन्न ठाउँको भ्रमण गरे । खानेपानीको स्रोत नभएका विभिन्न स्थानमा पानी उमारे, कुवाहरू खनाए । वि.सं. १८८३ मा पान्थरको चोकमागु स्थित लब्रेमा ‘किरात साङ्सेन वरक’ माङ्हिम निर्माण गरे । माङ्हिम क्षेत्र निपानी थियो । खानेपानीको मुहान थिएन । माङ्हिम नजिकै वि.सं. १८८४ मा माङ्सेवा गरी पानी मागे, कुवा खनाए । उक्त निपानी जग्गामा पानीको मुहान फुट्यो । मुहान संरक्षणका निम्ति लब्रेको सयौँ रोपनी जग्गामा बिरुवा लगाए ।
महागुरु फाल्गुनन्दले अन्य धेरै स्थानमा पानी उमारेका पाइन्छ । पान्थर रविको मुढेमा साधु गुफा माडे चौर, इलाम जीतपुर पारि गाउँमा उनका काका बलिवन्त लिङ्देनको अनुरोधमा वि.सं. १९८० मा र १९८५ मा इलाम माङ्मालुङ छेउ तीनचुलेमा पानी उमारेका थिए । यसैगरी वि.सं. १९८६ पान्थर कुरुम्बा– १, सिक्तेम्बाको थोक्पेत्जङमा सानु डाँडामा र १९९४ मा इलामकै इभाङ चिम्भुवामा पानी उमारेको उल्लेख छ । महागुरु फाल्गुनन्दले उमारेको पानी आजसम्म पनि प्रयोग भइरहेको छ ।
निपानी जग्गामा पानीको मुहान फुटाउनुमा उनमा भूमिगत पानीका स्रोतबारे विशेष ‘आत्मपहिचान’ थियो। पानीका मुहानलाई टिकाउन वृक्षरोपण गर्थे। लब्रे सुरुमा नाङ्गो डाँडाको रूपमा रहेका थियो । महागुरु फाल्गुनन्दले दार्जिलिङको भुसपाते र नेपालका विभिन्न स्थानबाट बिरुवाहरू ल्याएर वृक्षरोपण गरे । उक्त स्थानको बिरुवा नकाट्न एउटा सत्य धर्म मुचुल्का बाँधे । जंगल बढेपछि पानीको स्रोत बढ्ने भयो ।
१६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १३७ औं जन्म जयन्तीको पावन अवसरमा देश विदेश विश्वभर फैलिएर बस्नु भएको सम्पूर्ण किरातीहरुलाई हार्दिक शुभकामना
लेखः किराती बिबेक सुनुवार (लिनोच) को फेसबुक वालबाट साभार ।