इलाम / धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. ५ लारुम्बामा आत्मानन्द कपको १४ औं संस्करण खेल मंसिर दोस्रो सातादेखि सञ्चालन हुने भएको छ ।
मुहिङ्गुम अङसीमाङ् लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङ्गुम अङ्सीमामाङ् साम्बा पवित्रहाङ्मा लिङ्देनको नुमाङ्गेन्ना सेवाको अवसरमा मंसिर ११ देखि १७ सम्म प्रतियोगिता सञ्चालन हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङ्बुहाङ्ले जानकारी दिए ।
प्रतियोगितामा पूर्वका इलाम, पान्थर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने मंगलबार इलाममा आयोजित पत्रकार सम्मेलनमा यक्चुमका अध्यक्ष आङबुहाङले जानकारी दिए ।
अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङ्सेबुङ् गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फेदेन स्र्पोटिङ क्लब पान्थर, झापा–११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र सिरिजङ्गा स्पोर्टिङ क्लब मोरङको सहभागिता रहनेछ ।
प्रतियोगिताका विजेताले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच लगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता माङ्सेबुङ् गाउँपालिका वडा नम्बर ५ स्थित आत्मानन्द खेलमैदानमा संचालन हुने आयोजकले जनाएको छ । जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँड, कराँतेलगायतका खेलहरु समेत संचालन हुनेछन् ।
म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने भएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब २१ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए । त्यसका लागि किरात धर्मवलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।
आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङ्गुम अङ्सीमामाङ् साम्बा पवित्रहाङ्मा लिङ्देनको नुमाङ्गेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ । प्रतियोगिताका लागि माङ्सेबुङ् गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ ।
२०६५ सालमा मुहिङ्गुम अङ्सीमाङ् लिङ्देन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख १ सय ६८ रुपैयाँ पुगेको हो ।