- पोक्लाबाङ् कक्ष /
तेह्रथुम कातिक २२/ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ्ले तेरथुम जिल्लाबासीको स्वास्थ्य अबस्थाको बारेमा चासो भएकोले स्वास्थ्य संस्थाको सुधारका लागि पहल गर्ने बताउनु भएको छ ।
स्वास्थ्य राज्य मन्त्री हुनु भए पछि पहिलो पटक आफ्नो गृह जिल्ला पुग्नु भएका माननीय खापुङ्ले जिल्ला भ्रमणको समापन पछि सञ्चारकर्मीहरुसंगको कुराकानीमा जिल्लाको स्वास्थ्य संस्थाको सुधारका लागि पहल गर्ने बताउनु भएको हो । जिल्लाका ६ वटै स्थानीय तहमा आयोजित भेटघाट कार्यक्रममा नागरिकहरुले विभिन्न माग राख्नु भएकोले यी मागहरुको सुचि तयार गरि क्रमशः पूरा गर्दै जाने समेत प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाव भएको भन्ने जानकारी पाएकोले कर्मचारी व्यवस्थापनका लागि आफू लागि पर्ने बताउनु भएको छ । यस्तै विभिन्न स्थानीय तहमा एम्बुलेन्सहरु सहित भिडियो एक्सरे लगायतका सामग्रीहरु समेत माग भएकोले मन्त्रालय पुग्ने वितिकै यसबारे छलफल गरि व्यवस्थापन गरिने बताए । स्वास्थ्य मन्त्री भए पछि पहिलो पटक जिल्लामा आउनु भएका जिल्ला बासीहरुले विभिन्न स्थानमा नौमति बाजा र च्याब्रुङ (केलाङ) सहित भब्य स्वागत गरेका थिए ।
एक अर्काे प्रसङगमा जिल्लाको मेयङ्लुङ बजार र फेदाप बजारमा केही महिना अघि आफ्नो पुत्ला समेत जलाई आफ्नो दाहसंस्कार गरि सकेको भए पनि पुनः सोहि स्थानमा पुग्दा भव्य स्वागत गरेकाले स्वास्थ्य संस्थाको सुधार र अन्य विकासका काम गर्न प्रेरित भएको बताउनु भएको छ । सात दिने जिल्ला भ्रमण पछि राज्य मन्त्री भवानी खापुङ् पान्थरको फेदेन ,इलाम हुँदै दमकको केही हस्पिटलको अनुगम गरेर काठमाडौं फर्किनु भएको स्वास्थ्य राज्य मन्त्री खापुङका प्रेस सल्लाहकार भगिश्वर लिम्बूले बताउनु भएको छ ।