- पोक्लाबाङ् कक्ष /
उर्लाबारी / पूर्वी मोरङकै पुरानो उर्लाबारी बहुमुखी क्याम्पस उर्लाबारीको नयाँ नेतृत्व सर्व सम्मत भएपनि कार्यान्वयन हुन सकेन ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा नेपाल, नेकपा एकिकृत समाजवादी, संघीय लिम्बुवान मञ्चबीच सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति भएको थियो । माओवादीले गजेन्द्र दंगाल, मिलन दाहाल र रमेश श्रेष्ठलाई उम्मेद्वार बनाएको छ ।
माओवादी निकट श्याम पोखरेलको पनि उम्मेद्वारी परेको छ । राजेन्द्र पौडेल भने स्वतन्त्र उम्मेद्वार बनेका छन् । उनी नेकपा विभाजनपछि सक्रिय राजनीतिमा छैनन् । उनी हालसम्म कुन पार्टीमा जाने भन्ने विषयमा टुंगोमा पुगि नसकेको बताइएको छ । माओवादीलाई ३ जना सदस्य दिने सहमतिनुसार मात्रै उम्मेद्वार दर्ता गरेको माओवादीले जनाएको छ । पार्टीको निर्णय विरुद्ध उम्मेद्वारी दर्ता गराएको भए फिर्ता लिन निर्देशन दिने माओवादीको भनाई छ ।
त्यस्तै, कांग्रेसले १ सदस्य मात्रै उम्मेद्वार बनाउने निर्णय गरेको थियो । कांग्रेसले आधिकारिक रुपमा बिमल निरौलालाई सदस्यको उम्मेद्वार बनाएको भएपनि मुक्तिप्रकाश न्यौपाने, योगेन्द्र कट्वाल (गोपाल), गीता अधिकारी (खतिवडा), सर्वजित भण्डारी, नरबहादुर मोक्तान, राजकुमार पोमु (लोलिम), छत्रबहादुर कार्की, रेशबहादुर कट्वाल, हरिबाबु दाहाल, तेजकुमार कार्की, मीनप्रसाद दाहाल र कमल नारायण मल्लिक उम्मेद्वार बनेका छन् । नेपाली कांग्रेस उर्लाबारी नगर समितिले निरौला बाहेक सबैलाई उम्मेद्वार फिर्ता दिन निर्देशन दिइसकेको छ ।
एमालेले ४ जना उम्मेद्वार दिने सहमति थियो तर सहमति विपरीत धेरै उम्मेद्वारी दर्ता भएको छ । जसमा एमालेका नेताहरु पनि सदस्य बन्ने दौडमा देखिएका छन् । पुष्पलाल ढकाल, उमाकान्त गौतम, रुद्रबहादुर तामाङ, उर्मिला थापा, राम बुढाथोकी, टिकाप्रसाद अधिकारी, चेतन सिग्देल र नगेन्द्रप्रसाद घिमिरेको उम्मेद्वारी परेको छ ।
त्यस्तै, जसपाले १ जना सदस्य उम्मेद्वार पाउने सहमति छ । विशाल आङ्देम्बे मात्रै सदस्य आधिकारिक उम्मेद्वार भएपनि मनोहरी दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै, राप्रपालाई दुई सदस्य दिने सहमति छ । जसमा होमनाथ गौतम, प्रलाद थापा, ज्ञानेन्द्र ओली र प्रेम डाँगी उम्मेद्वार बनेका छन् । त्यस्तै, नेकपा एकिकृत समाजवादीलाई १ सदस्य दिने सहमति छ तर, दुई जनाले उम्मेद्वारी दर्ता गराएका छन् । गोपाल प्रसाद भट्टराई, कृष्णराज गुरुङले उम्मेद्वारी दर्ता गराएका छन भने लिम्बुवानले बरुण लाबुङलाई उम्मेद्वार बनाएको छ ।
क्याम्पसमा १३ सदस्यीय समिति चुनिनेछ । आगामी कातिक २५ गते दिउँसो १२ बजेसम्म उम्मेद्वार फिर्ताको समय तोकिएको छ भने कातिक २६ गते विहान ८ बजेदेखि मतदान सुरु हुने कार्यकालिका सार्वजनिक भएको छ ।