दमक, कातिक २२/
किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा र कियाचु दमक नगर शाखाको संयुक्त देउसे कार्यक्रम दमक नगरमा सम्पन्न भएको छ ।
किरात याक्थुङ् चुम्लुङ् झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाक र नगर अध्यक्ष देवेन्द्र माबोहाङ चेम्जोङको र नेतृत्वमा सञ्चालित देउसे कार्यक्रमबाट संकलित रकम रू. ५०,०००/– चुम्लुङको कार्यालय सञ्चालनमा खर्च गर्नेगरी जिल्ला शाखा र नगर शाखाकोषमा रहनेगरी बाँडफाँड गरिएको छ । उक्त रकम जिल्ला कोषमा रू. २५,०००/– र नगर शाखा कोषमा रू. २५,०००/– रहनेगरी बाँडफाँड गरिएको कियाचु दमक नगर कोषाध्यक्ष इन्द्र सम्बाहाङ्फेले बताए ।
वलिहाङ् तियाहा तङ्नाम–२०७८ अर्थात शुभ दीपावली–२०७८ को पावन अवसरमा चुम्लुङ् जिल्ला शाखा र नगर शाखाको संयुक्त रूपमा शुभकामना आदान–प्रदान गर्दै नाम्लिङगे–लारिङगे अर्थात देउसे खेलिएको अध्यक्ष फियाकले जनाएको छ । यसपाली चुम्लुङ् जिल्लाले ल्याएको कार्यक्रमनुसार सम्बन्धित नगरमा सञ्चालन गरिएको देउसेबाट उठेको रकम ५०/५० प्रतिशतका दरले बाँडफाँड गरि चुम्लुङको कार्यालय सञ्चालन गर्ने गरी देउसे खेलिएको नगर अध्यक्ष चेम्जोङले बताए ।
वलिहाङ तङ्नामको पावन अवसरमा जिल्ला भरिका नगर र गाउँ शाखाहरूमा यहि हिसाबले नाम्लिङगे लारिङगे खेलिएको कुरा पनि जिल्ला अध्यक्षले बताएका छन् ।
दमक नगरबाट प्राप्त भएको जसरी नै अन्य नगर र गाउँ शाखाबाट पनि संकलित रकमको ५०% जिल्ला कोषमा प्राप्त हुन आएमा जिल्ला चुम्लुङको कार्यालय व्यवस्थित ढंगले सञ्चालन गर्न सहज हुने समेत जिल्ला अध्यक्षले बताएका छन् ।