- पोक्लाबाङ् कक्ष
विराटनगर , कातिक १६/
१ नं. प्रदेशका नवनियुक्त जनता समाजवादी पार्टी नेपाल नेता, सामाजिक विकास मन्त्री जयराम यादवले आफ्नै मैथिली भाषामा पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।
मंगलबार दिउसो नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईसंगै सामाजिक विकास मन्त्रीमा नियुक्त हुनु भएका यादवलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सपथ ग्रहण गराउनु भएको क्रममा यादवले आफ्नो मातृभाषा मैथिलीमा सपथ ग्रहण गर्नु भएको हो ।
नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहणपत्र नेपाली भाषामै टाईप गरी ल्याइए तापनि मन्त्री यादवले प्रदेश प्रमुख ‘प्यासी’ सामु आफूले आफ्नो मातृभाषामै सपथ ग्रहणमा आफैले भाषा रुपान्तरण गरी मन्त्री यादवले मैथिलीमा सपथ ग्रहण गर्नु भएको उहाँका स्वकिय सचिव राकेश रोशन यादवले वताए ।
भाषा आयोगले केहि समयअघि सातै प्रदेशको लागि सरकारी कामकाजमा नेपाली भाषा बाहेक प्रयोग हुने सक्ने भाषाहरुको सिफारिस गरि सकेको छ । जसअनुसार १ नं.प्रदेशमा मैथिली र लिम्बू, २ नं. प्रदेशमा मैथिली, भोजपुरी र बज्जिका, बागमती प्रदेशमा तामाङ र नेवारी, गण्डकी प्रदेशमा मगर, गुरुङ र भोजपुरी, लुम्बिनी प्रदेशमा थारू र अवधी, कर्णाली प्रदेशमा मगर तथा सुदुरपश्चिम प्रदेशमा डोट्याली र थारू भाषा सिफारिस गरि सकेको छ ।
नेता यादव जनता समाजवादी पार्टी नेपालबाट १ नं.प्रदेश सरकारको प्रतिनिधित्व गरिहरनु भएको छ भने नवगठित मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो (मौसम) आर्थिक मामिला मन्त्री, कांग्रेस नेता हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै केदार कार्की आन्तरिक मामिला मन्त्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान मञ्च नेपाल)की मा. सांसद विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनु भएको छ ।
१ नं. प्रदेशका मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।