विर्तामोड–१० सैनिक बजारमा कियाचु वडा भेटघाट कार्यक्रम

कातिक १५, २०७८/  किरात याक्थुङ चुम्लुङ विर्तामोड नगरपालिका – १० को वडा कार्य समितिको आयोजनामा भेटघाट कार्यक्रम वडा चुम्लुङ्हिममा सम्पन्न भएको छ ।

सैनिक बजारस्थित किरात याक्थुङ चुम्लुङ विर्तामोड नगरपालिका वडा नम्बर – १० को चुम्लुङ् वडा कार्य समितिको आयोजनामा राष्ट्रिय जनगणना – २०७८ सम्बन्धि सचेतना भेटघाट कार्यक्रममा चुम्लुङ् केन्द्रीय महासचिव निरन्ती तुम्बापो, कियाचु जिल्ला अध्यक्ष सेसेहाङ् फियाक र चुम्लुङ् विर्तामोड नगर अध्यक्ष हिमालय प्रकाश कन्दङ्वाको उपस्थितिमा वडा चुम्लुङ्हिमको समेत अवलोकन, अनुगमन भएको छ ।
महासचिव तुम्बापोले चुम्लुङ्को समसामयिक विषयमा प्रष्ट्याउनु हुँदै चुम्लुङको गतिविधीको वारेमा स्पष्ट पार्दै मेरो गणना मेरो सहभागिता भन्ने मूल नाराका साथ सम्पन्न हुन लागिरहेको १२ औं राष्ट्रिय जनगणनामा जातजातिको महलमा लिम्बू, मातृभाषाको महलमा लिम्बू, पूर्खाको भाषाको महलमा लिम्बू, दोस्रो भाषाको महलमा नजिकको आदिबासी जनजातिको भाषा र धर्मको महलमा किरात धर्म लेख्न लेखाउन सम्पूर्ण चुम्लुङ् कार्यकर्ताहरु लागि पर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।
भेटघाट कार्यक्रम किरात याक्थुङ् चुम्लुङ वडा अध्यक्ष ज्ञानेन्द्र कन्दङ्वाको अध्यक्षततामा भएको कार्यक्रम विर्तामोड नगर शाखा सह–सचिव तथा याक्थुङ् सांस्कृतिक समूहका अध्यक्ष सन्तोष बेघाले सञ्चालन गर्नुभएको थियो ।

चुम्लुङ वडा शाखाको अवस्था
किरात याक्थुङ् चुम्लुङ् वडा कार्यालय निर्माण गर्न बिर्तामोड १० सैनिक बजार निवासी पिता आशबहादुर चबेगु र माता प्रितीमाया चबेगुका सन्तानहरू मोती चबेगु, रन्जित चबेगु, लोक बहादुर चबेगु र सुरेन्द्र चबेगु ४ भाईले १ कट्ठा जग्गा प्रदान गर्नु भएको छ । त्यस जग्गामा झापा जिल्ला क्षेत्र न.ं (ख) प्रदेश सांसद माननीय पूर्णसिंह ज्यूले प्रदान गर्नु भएको सांसद कोषबाट प्राप्त भएको १० लाख र स्थानीय स्रोत, साधन जुटाई चुम्लुङ्हिम निर्माण गरिएको हो । पुन बाँकी संरचना निर्माण गरेको निमित्त थप जग्गा खरिद गर्ने योजना रहेको पनि अध्यक्ष कन्दङ्वाले बताए । त्यसैगरी सो चुम्लुङहिमको थप संरचना निर्माण गर्नलाई वडा कार्यालयले ५ लाख रुपैयाँ बजेट विनियोजन समेत भएको कियाचु वरिष्ठ सल्लाहकार रिमाल लोक्तामले जानकारी दिनु भएको छ ।
विर्तामोड नगरपालिका वडा न.ं १० मा डेढसय भन्दा बढी याक्थुङ्–लिम्बूको बस्ती रहेको छ ।