१ नं. प्रदेश मुख्यमन्त्री आचार्यद्वारा राजीनामा

दमक १५ कातिक/
१ नं. प्रदेश मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनु भएको छ ।

सोमबार बसेका प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले आफ्नो पार्टीको अंकगणित मेल नखाएको भन्दै राजीनामा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामी संविधानको धारा १६८ को उपधारा १ अन्तर्गतको अवस्थामा नरहेको हुनाले आजै मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गर्दछु।’

१० भदौमा मुख्यमन्त्री बनेका नेकपा एमालेका सचिव आचार्यले सरकार अल्पमतमा परेपछि राजीनामा दिएका हुन् । एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधान अनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गर्नु भएको थियो ।

१ नं. प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टी आचार्य विरुद्ध उभिएका छन् । राजीनामा दिएपछि विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीका प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०,जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । एक सिट रहेको राप्रपा मौन छ ।